नेपाललाई हराउँदै स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतलाई

डिसी नेपाल
८ असोज २०७६ १३:०५

काठमाडौं । अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । मंगलबार भएको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले जित्दै क्लिन स्वीप गरेको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । भारतका लागि इमरान मल्लिकले सर्वाधिक ५२ रनको अर्धशतकीय योगदान दिए । नेपालका तबरेज अन्सारीले ३ विकेट लिए ।

१ सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो । नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रनको योगदान दिए ।

प्रतियोगितामा भारतका इमरान मल्लिक म्यान अफ दी सिरिज चुनिए । भारतीय कप्तान यादयुन्दर सिंह खेरा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भए । नेपालका तबरेज अन्सारी प्रतियोगिताको उत्कृष्ट बलर र बेस्ट फिल्डर नेपालका मनोज थापा घोषित भए ।

विजेतालाई नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष उपेन्द्र भट्टराईले पुरस्कार प्रदान गरे । पहिलो खेलमा भारतले ६१ रन र दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *