प्रेम परियारले ‘पोई पर्यो काले’मा गीत गाए

डिसी नेपाल
८ असोज २०७६ १३:३४

काठमाडौं। ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत नसुन्ने सायदै होलान्।

विकासराज आचार्य निर्देशित चलचित्र ‘नाइँ नभन्नू ल २’ मा समावेश यस गीतले प्रेम परियारलाई बाल–गायकका रुपमा रातारात सेलिब्रेटी बनाएको थियो। त्यसयता उनको लोकप्रियतालाई ‘क्यास’ गर्न निर्माता–निर्देशकबीच ठूलै घम्साघम्सी हुन्थ्यो। तर क्रमश पढाईमा समय दिनुपर्नेसंगै प्रेमको स्वरमा पनि परिवर्तन आउन थालेपछि उनी स्वयंमले गीत गाउन कम गरेका थिए।

‘नाई नभन्नु ल ४’पछि प्रेम केही समय गायनबाट हराएका थिए। उनै प्रेमले चलचित्र ‘पोई पर्यो काले’को गीतमा स्वर दिएका छन्।
प्रेमको स्वरमा ‘मायाले मलाई’ बोलको गीत मंगलबार रेकर्ड गराईएको हो।

पढाइ र स्वर बदलिएका कारण आफूले केही समय गीत नगाएको प्रेम बताउँछन्। भन्छन् —‘यो गीत सुन्नेबित्तिकै मन पर्यो । आशा छ, केही समय मेरा गीत सुन्न नपाउनुभएका स्रोता÷दर्शकहरुले यो गीत मन पराउनुहुनेछ ।’ आउँदा दिनमा कर्णप्रिय गीतहरु गाउँदै जाने प्रेम बताउँछन्।

‘मायाले मलाई’ गीतमा रघु परियारको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गराइनेछ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र तिहारको अवसर पारी आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने छ। चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन्। चलचित्रको निर्मातामा दिपक मनाङ्गे (राजिव गुरुङ) सरोज नेपाली, अमलादेवी राई र देव तामाङ रहेका छन्।

सौगात र पूजाका अलावा चलचित्रमा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *