दृष्टिविहिन तथा अनाथ बालबालिकामाझ ‘रातो टीका निधारमा’ टिमले दशैं मनायो
काठमाडौं। आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘रातो टीका निधारमा’ले प्रचारप्रसारसंगै सामाजिक कार्यलाई पनि अघि सारेको छ।
चलचित्र प्रचारकै क्रममा सामाजिक कार्य गर्ने उद्धेश्यले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता अंकित शर्मा, रविन्द्र झा र निर्देशक अशोक शर्मासहितको टोली मंगलबार दिउँसो गोंगबुस्थित त्रिनेत्र फाउन्डेशन पुगेका छन्। प्रायः चलचित्रको कार्यक्रममा देखिने यो टीमले, त्यहाँ पुगेर दृष्टिविहिन तथा अनाथ बालबालिकाहरुसँग आत्मियता साट्यो।
नयाँ कपडा उपहार र नयाँ व्यक्तिको मायासँगै खाना खान पाउँदा बालबालिकाहरु निकै खुःसी देखिन्थ्ये। चलचित्र टीमले त्यहाँ दशैँको टिका र जमरा लगाएर खुसीको माहोल छरेको थियो । वेमेन्स रूम्स रिलोटेड ( WRR) को सहकार्यमा चलचित्रको टीम त्यहाँ पुगेको थियो।
पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा अभिनेत्री साम्राज्ञी भावुक देखिन्थिन्। ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइन्। पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ’ त्यहाँ उनले भनिन् ‘सामाजिक कार्यमा लाग्नलाई पहिले त मनैदेखि तयार हुनुपर्दछ । त्यसैले अहिले नै सबै ठाउँमा हात हाल्ने अवस्था छैन। भावी दिनमा अवश्य पनि तन–मन लगाएर सामाजिक कार्यमा हिँड्नेछु।’
दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए। ‘दशैँ भन्ने बित्तिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ। मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नु पर्थ्यो। अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु’– निर्देशक शर्माले भने ।
यस्तै ‘रातो टिका निधारमा’बाट डेब्यू गरेका अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए। अंकितले भने –‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनु भएन। तर, आज आएर असहायहरुलाई सहयोग गर्न पाउँदा मनैदेखि सन्तुष्ट भएको छु।’
त्यस्तै अभिनेता रविन्द्र झाले पनि आफ्नो सानो सहयोगको कसैको जीवनमा ठूलो खुसी ल्याउने राय व्यक्त गरे। ‘यसपटकको दशैँ ‘रातो टिका निधारमा’ विशेष हुनेछ। हामीले सम्पूर्ण नेपालीको कथा बोकेर आएका छौँ । आशा छ, हाम्रो चलचित्रले सबैलाई समेट्नेछ’–झाले भने।
किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ। रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा चलचित्रले भन्नेछ।
Facebook Comment