जब मोदीकै अगाडि ट्रम्पले भारतीय पत्रकारलाई भने, ‘यस्ता पत्रकार कहाँ पाइन्छन्’
वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र पत्रकारबीचको सम्बन्ध त्यति राम्रो छैन। ट्रम्पले ‘फेक न्यूज’ भन्ने शब्दलाई चर्चित बनाएका छन्। आफ्नो आलोचक पत्रकारमाथि ट्रम्पले फेक न्यूज प्रोडक्टरको आरोप लगाउने गर्छन्। ट्रम्प अमेरिकी सत्तामा आएदेखि नै पत्रकारहरुमाथि खनिएका छन्। उनले सीएनएनका एकजना पत्रकारलाई त व्हाइट हाउसको प्रेस पास नै फिर्ता गरिदिएका थिए।
तर, पछिल्लो चर्चा उनले भारतीय र पाकिस्तानी पत्रकारमाथि गरेको व्यवहारले भएको छ। यतिबेला भारत र पाकिस्तानबीच तनाव जारी छ। भारत र पाकिस्तानका पत्रकारहरु एकअर्काप्रति आक्रामक र उत्तेजक छन्। मौका पाएसम्म एकअर्काको उछितो काड्ने मौका उनीहरुले छोड्दैनन्। हाल पाकिस्तानी र भारतीय पत्रकारको एक टोली अमेरिकाको न्यूयोर्कमा छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि न्यूयोर्कमा छन्। राष्ट्रसंघको महासभामा सहभागी हुन विश्वभरका नेताहरु न्यूयोर्कमा जम्मा भएका छन्। यो महासभामा जलवायु परिवर्तन मुख्य मुद्दा हुनुपर्ने आवाज उठे पनि भारत र पाकिस्तान तथा इरान–अमेरिका तनावको कारण अन्य मुद्दाहरु ओझेलमा छन्।
भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुअघि ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग द्विपक्षीय वार्ता गरे। वार्तापछि उनीहरुले सँयुक्त पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा पाकिस्तानी पत्रकारहरुले कश्मीर मामिलामा ट्रम्पलाई प्रश्न गरे। उनीहरुले कश्मीरमा मानवअधिकार उल्लंघन भएकाले तपाईँले के गर्न सक्नु हुन्छ भनेर प्रश्न गरेका थिए। ट्रम्पलाई यो प्रश्नको उत्तर दिन कुटनीतिक समस्या थियो। त्यसैले ट्रम्पले उत्तर दिएनन्। ‘यस्ता राम्रा’ पत्रकार भनेर खिल्ली उडाए।
अब यसरी मजाकको पात्र बन्ने पालो थियो भारतीय पत्रकारको। मोदी र ट्रम्पले आयोजना गरेको सँयुक्त पत्रकार सम्मेलनमा भारतीय पत्रकारले पाकिस्तान प्रयोजित आतंकवाद रोक्न अमेरिकाको रोडम्याप के छ भनेर प्रश्न गरेपछि ट्रम्प क्रुद बने। तर, उत्तर दिएनन्। प्रश्न गर्ने पत्रकारलाई मजाकको पात्र बनाए। उनले मोदीतिर फर्किँदै भने, ‘तपाईँसँग यति राम्रा पत्रकार छन्। यति राम्रा पत्रकार यहाँ भइदिएको भए।’
Facebook Comment