अशोकको दाबी : ‘रातो टीका निधारमा’ले मनोरञ्जन मात्र होइन् दर्शकलाई गहन सन्देश पनि दिन्छ
काठमाडौं। निर्माता तथा निर्देशक अशोक शर्माले अहिले कमजोर कथामा चलचित्र बनिरहेको बताएका छन्। अहिले चलचित्रमा प्रविधिको विकास भएपनि कथा कमजोर हुने गरेको उनको विश्लेषण छ।
‘अहिले प्रविधिले चलचित्र निर्माणलाई धेरै सजिलो बनाएको छ’ डिसी नेपालसंग कुरा गर्दै अशोकले भने –‘तर अहिलेका चलचित्रमा पहिलेकोमा जस्तो बलियो कथा पाउँदैनौं।’ पुराना चलचित्रमा प्रविधि कमजोर रहेपनि कथा बलियो हुँदा अहिलेपनि ती चलचित्रको कथा धेरै दर्शकको मानसपटलमा हुने गरेको अशोकले बताए।
उनी अहिले हतारमै कथाको काम सक्ने गरेको बताउँछन्। भन्छन् –‘कथामा सबैभन्दा बढी समय तथा मेहनत लगाउनुपर्ने हो। तर त्यो भएको छैन्।’ अहिलेका चलचित्रमा कथाभन्दा अन्य पाटोलाई प्राथमिकता दिन थालिएको अशोकको तर्क छ। ‘तर, त्यो गलत हो। सर्वप्रथम कथामै ध्यान दिनुपर्छ’–उनी थप्छन्।
अशोकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’ भोली शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ। यस चलचित्रमा कथा लेखनका लागि धेरैतिर कोशिस गर्दा नभएपछि आफैले कथा लेख्नु परेको अशोक सुनाउँछन्। कथा तयार गर्न ८ महिना लागेको उनले बताए।
चलचित्रले वैदेशिक रोजगारीको कथा बोल्छ। अशोक मनोरञ्जनसंगै गहन सन्देश दिने चलचित्र बनाएको दावी गर्छन्। भन्छन् –‘चलचित्रले दर्शकलाई गहन सन्देश दिन्छ। बोलेर मात्र होइन् यसरी सम्भव छ भनेर प्राक्टिकल्ली देखाएर नै त्यस्तो सन्देश दिन खोजेका छौं।’
चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्र झा, बुद्धि तामाङ, नीता ढुंगाना, खुश्बु खड्का, बसुन्धरा भुषाल, शिवहरी पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतको अभिनय छ।
Facebook Comment