अन्ततः १ वर्षपछि साउदी राजकुमारले पत्रकार जमाल खशोग्गीको हत्याको जिम्मेवारी लिए
काठमाडौं। साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्याको जिम्मेवारी लिएका छन् । अर्को हप्ता प्रसारण हुने पब्लिक ब्रोडकास्टिङ सर्भिस (पिबिएस)को डकुमेन्ट्रीमा राजकुमार सलमानले गत वर्ष पत्रकार खशोग्गीको हत्या साउदी एजेन्टबाट आफ्नो निगरानीमा भएको स्वीकार गरेका हुन् । पत्रकार खशोग्गीको गत वर्ष टर्कीको इस्तानबुलमा साउदी कन्सुलेटमा हत्या भएको थियो ।
यस विषयमा सलमानले अहिलेसम्म सार्वजनिक रुपमा बोलेका थिएनन् । अमेरिकी खुफिया एजेन्सी र पश्चिमा देशहरुले खशोग्गीको हत्या गर्न सलमानले नै आदेश दिएको दावी गरेका थिए तर साउदी अधिकारीहरुले यसका उनको कुनै भूमिका नभएको दावी गर्दै आएका थिए । खशोग्गीको हत्याले विश्वव्यापी तरंग ल्याएको थियो । यसले साउदी राजकुमारको छवि धमिलिएको थियो र विश्वको सबैभन्दा ठूलो पेट्रोलियम निर्यातकर्ताको महत्वाकांक्षी योजना पनि संकटमा परेको थियो । सलमानले त्यतिबेलादेखि अमेरिका र युरोप भ्रमण पनि गरेका छैनन् ।
‘यो मेरो निगरानीमा भएको थियो, म सबै जिम्मेवारी लिन्छु किनकि यो मेरो निगरानीमा भएको थियो’ सलमानले पिबिएसका मार्टिन स्मिथसँग भनेको डकुमेन्ट्रीको सार्वजनिक गरिएको प्रिभ्यूमा देखाइएको छ । यो डकुमेन्ट्री खशोग्गीको हत्याको वार्षिकीको अघिल्लो दिन १ अक्टोबरमा प्रसारण हुँदैछ । खशोग्गीको गत वर्ष २ अक्टोबरमा टर्कीको इस्तानबुलमा हत्या भएको थियो ।
Facebook Comment