ट्रम्पविरुद्धको उजुरी कानुनको परिधिभित्रै
वाशिङ्टन् (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउनका लागि छानबिनको कारकका रूपमा रहेको उजुरीले निम्त्याएका चिन्ताहरूबारे अमेरिकाका एक वरिष्ठ गुप्तचर अधिकारीले पहिलो पटक आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
आन्तरिक गुप्तचर निकाय न्याशनल सेक्युरिटीका निमित्त निर्देशक जोसेफ मग्वाएरले अमेरिकी प्रतिनिधि सभाको गुप्तचर समितिमा बयान दिँदै उजुरीकर्ताले राम्रो उद्देश्य राखेर र कानुनको परिधिभित्रै रहेर उजुरी दिएको बताए।
त्यसक्रममा ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको टेलिफोन कुराकानीबारे एक गुप्तचर अधिकारीले व्यक्त गरेका चिन्ताहरूप्रति उनी किन हप्तौँसम्म मौन रहे भन्ने जस्ता प्रश्नहरूको सामना गरे।
उनले त्यसको ब्यहोरा पहिले ह्वाइट हाउसमा दिनु पर्ने भएकोले ढिलो भएको बताए।
आफ्नो निवेदनमा ती उजुरीकर्ताले सन् २०२० को अमेरिकी चुनावमा विदेशी हस्तक्षेप सदर गराउन राष्ट्रपतिले आफ्नो शक्तिको प्रयोग गरिरहेको जानकारी आफूहरूले विभिन्न सुत्रहरूबाट प्राप्त गरेको उल्लेख गरेका छन्।
त्यसमा राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेपको सुरुवात वास्तवमा युक्रेनबाट भएको हो भनी देखाउन युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको सहयोग खोजेको उल्लेख गरिएको छ।
साथै ट्रम्पले भूतपूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोराविरुद्धका आरोपको अनुसन्धान गर्न पनि जेलेन्स्कीको सहयोग खोजेको उल्लेख गरिएको छ।
त्यो उजुरीकर्ताको निवेदन पढेका कंग्रेस सदस्यहरूले त्यसका विवरणहरू चिन्ताजनक रहेको बताएका छन्।
तर ट्रम्पले चाहिँ जुन उजुरीका आधारमा आफूविरुद्धको महाअभियोग अनुसन्धान थालिएको हो त्यो फगत उनकै शब्दमा कुनै जोक वा ठट्टामा आधारित रहेको बताएका छन्।
युक्रेनमा चाहिँ एक विपक्षी सांसद ओलेक्सी गोन्चारेन्कोले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको कार्यालयमा एक निवेदन दर्ता गर्दै जुलाई महिनामा उनी र राष्ट्रपति ट्रम्पबीच भएको टेलिफोन कुराकानीको पूर्ण पाठ सार्वजनिक गर्न माग गरेका छन्।
त्यो कुराकानीबारेको एक सारांशमा ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आफ्ना सम्भाव्य चुनावी प्रतिस्पर्धी जो बाइडेन र उनका छोराविरुद्ध लगाइएका भ्रष्टाचार आरोपबारे छानबिन गराउन दबाब दिएको उल्लेख गरिएको छ।
तर एक युक्रेनी कूटनीतिज्ञ ओलेह भोलोशिनले जेलेन्स्कीको भूमिका चतुरो र व्यवहारिक भएको बताएका छन्।
तर युक्रेनमा त्यो प्रकरणबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। जेलेन्स्कीले पनि आफ्नो व्यवहारको बचाउ गरेका छन्।
बाइडेनको मुद्दाबारे आफूलाई थाहा नभएको बताउँदै उनले त्यसबारे अनुसन्धान गर्ने दायित्व युक्रेनी महान्यायाधिवक्ताको कार्यालयको भएको बताएका छन्।
Facebook Comment