‘रातो टिका निधारमा’ आजदेखि हलमा
काठमाडौँ। शुक्रबार रिलिज अन्तर्गत आजदेखि चलचित्र ‘रातो टिका निधारमा’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ।
अशोक शर्माको लेखन/निर्देशन रहेको चलचित्रले वैदेशिक रोजगारले पारेको प्रभावको कथा वाचन गर्छ। यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अशोककै छोरा अंकित शर्माको मुख्य भूमिका छ। साथमा रविन्द्र झा, नीता ढुंगाना, खुश्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरी पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन्।
दुई दशक अघिको चलचित्र ‘अल्लारे’मा समावेश हिट गीत ‘रातो टिका निधारमा’लाई सापटी लिएर निर्देशक शर्माले चलचित्र बनाएका हुन्।
चलचित्रको गत बुधबारबाट अग्रिम टिकट बुकिङ खोलिएको थिए। चलचित्रले मल्टिप्लेक्स हलमा सन्तोषजनक शोज पाएको छ। प्रदर्शनको पहिलो दिन चलचित्रलाई मल्टिप्लेक्स अन्तर्गत ‘क्यूएफएक्स’ चेनमा देशभर गरि ३४ शोज उपलब्ध गराईएको छ। काठमाडौं भित्र ‘क्यूएफएक्स’ले चलचित्रलाई १८ शोज दिएको छ।
अनुहार चिनिएका कलाकारहरुको वाहुल्यता, गीतसंगीत र ट्रेलरबाट पाएको सकारात्मक प्रतिक्रिया, निर्देशकको ब्राण्ड नामका कारण चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गर्ने धेरैको अनुमान छ। तर, गत शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले दोस्रो सातामा पनि राम्रो शोज पाएको छ। यता आउँदो बुधबारबाट बलिउडको प्रतिक्षित चलचित्र ‘वार’ प्रदर्शनमा आउँदैछ। त्यसपछि दुवै नेपाली चलचित्रले धेरै शोज बलिउड चलचित्रका लागि छाड्नुपर्नेछ। तसर्थ, ‘रातो टीका निधारमा’लाई इनिसियल ब्यापार गर्नुपर्ने दवाब पनि देखिन्छ।
ए.ए ग्रुप अफ कम्पनीको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा किरन शर्मा र कृति शर्मा छन्। चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन तथा मित्र देव गुरुङको सम्पादन छ।
Facebook Comment