सलमान आज अदालत उपस्थित नहुने, जमानत रद्द भएर फेरि जेल पुग्न सक्छन्
काठमाडौं। बलिउड अभिनेता सलमान खान आज जोधपुर अदालतमा उपस्थित नहुने भएका छन् । कालो हरिण शिकार मुद्दामा आज सलमानको जोधपुर अदालतमा सुनुवाइ छ । तर, विश्लोइ समाजसँग सम्बद्ध सोपु ग्याङले मारिदिने धम्की दिएपछि सलमान आज अदालत नजाने भएका हुन् । यसअघिको सुनुवाइमा अदालतले सलमानलाई आज उपस्थित हुन आदेश दिएको थियो । यदि आज सलमान अदालतमा पेश नभए अदालतले उनको जमानत रद्द गर्न सक्छ । यदि जमानत रद्द भएमा सलमान फेरि जेल जानुपर्ने हुनसक्छ ।
सलमानका वकिल हस्तमिल सारस्वतले अदालत जाने क्रममा आज सलमान अदालत नजाने बताएको आज तकको समाचारमा उल्लेख छ । जोधपुर अदालतमा सलमानविरुद्ध दुई मुद्दा चलिरहेका छन् । पहिलो मुद्दा सन् १९९८ मा फिल्म हम साथ साथ हैंको सुटिङको क्रममा कालो हरिणको शिकारसँग सम्बन्धित छ । यो मुद्दामा सलमानलाई तल्लो अदालतले २५ अप्रिल २०१८ मा ५ वर्षको जेल सजाय सुनाइएको थियो । यो फैसलाविरुद्ध सलमानले सजाय निलम्बनको माग गर्दै माथिल्लो अदालतमा अपिल गरेका हुन् जसको सुनुवाइ चलिरहेको छ ।
दोस्रो मुद्दा अवैध हतियारको हो । यो मुद्दामा २०१६ मा तल्लो अदालतले सलमानलाई रिहा गरेको थियो । यसमा सरकारले तल्लो अदालतको आदेश बदर गरी सलमानलाई सजाय दिन माग गर्दै माथिल्लो अदालतमा अपिल गरेको थियो । यसको सुनुवाइ पनि आजर्ला नै तोकिएको थियो । तर, अदालतमा पेश हुनुभन्दा अघि सोपु ग्याङले सलमानलाई ज्यान मार्ने धम्की दिएको थियो । ग्याङले फेसबुकमा भारतीय कानुनले सलमानलाई माफ गरे पनि विश्नोइ समाजले उनलाई मृत्युदण्डको सजाय सुनाएको उल्लेख छ ।
यसअघि सोपू ग्याङका प्रमुख लरेन्स विश्नोइले जोधपुर अदालतमै सलमानलाई मारिदिने धम्की दिएका थिए । लरेन्स विश्नोइ यस क्षेत्रका चर्चित डन हुन् र अहिले जेलमा छन् । यो ग्याङका धेरैजसो सदस्य विश्नोइ समाजका छन् । यो समाजले हरिणलाई भगवानको रुपमा पूजा गर्ने गर्दछन् । यो समाजे सलमानको पेशीको क्रममा लगातार प्रदर्शन गर्दै आइरहेको छ ।
Facebook Comment