गम्भीर संकटमा फस्दै अमेरिकी राष्ट्रपति ट्रम्प, अब के हुन्छ?
वाशिङ्टन (बीबीसी) । संयुक्त राज्य अमेरिकामा उत्पन्न नयाँ राजनीतिक विवादमा राष्ट्रपति डोनल्ड ट्रम्प, विदेशी राष्ट्र, कानुनी र नैतिक व्यवहारसम्बन्धी प्रश्न र राजनीतिक प्रतिद्वन्द्वीविरुद्धका आरोपहरू जोडिएका छनज्, अन्ततः ती नै अमेरिकी राष्ट्रपतिविरुद्ध महाभियोगको अनुसन्धानको कारक बन्न पुगेका छन् । डेमोक्र्याटिक पार्टीले त्यसलाई औपचारिक रूपमा अघि बढाएको छ । ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई सिध्याउन विदेशी सरकारलाई दबाव दिएको आरोप उनीहरूले लगाएका छन् ।
महाभियोगसम्बन्धी कारवाहीले राष्ट्रपतिलाई जाँचबुझको बलियो घेरामा पारेको छ जसले अन्ततः उनलाई पदबाट मुक्त गरिदिन सक्छ । ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि भ्रष्टाचारसम्बन्धी अभियोगमा युक्रेनका अधिकारीहरूले अनुसन्धान नगर्दासम्म अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायता रोकिदिने धम्की दिएको आरोपलाई लिएर अनुसन्धान गरिन लागेको हो । राष्ट्रपति ट्रम्पले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानलाई ‘आफूलाई हतोत्साहित बनाउने दुराशय’को संज्ञा दिएका छन् ।
डेमोक्र्याटिक पार्टीकी नेतृ न्यान्सी पेलोसीले ट्रम्पलाई उत्तरदायी बनाइनुपर्ने बताएकी छन् । यो यसकारण महत्वपूर्ण छ, किनकि यस प्रकरणमा अमेरिकाका वर्तमान राष्ट्रपति र उनलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा चुनौती दिन अग्रपंतिमा रहेका व्यक्ति संलग्न छन् । ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धी डेमोक्र्याट नेता जो बाइडनविरुद्धका सूचना खोज्न युक्रेनलाई धम्काउन राष्ट्रपतिको शक्ति प्रयोग गरेको आरोप उनका आलोचकहरूको छ ।
ट्रम्प र उनका समर्थकहरूले पूर्व उपराष्ट्रपति बाइडनमाथि आफ्ना छोरा हन्टरलाई प्रभावित पार्न सक्ने फौजदारी अनुसन्धानबाट पछि हट्न युक्रेनलाई दबाव दिन पदीय दुरुपयोग गरेको आरोप लगाएका छन् । बाइडन आउँदो वर्ष हुने चुनावमा ट्रम्पलाई चुनौती दिन डेमो क्र्याटको तर्फबाट उम्मेदवार हुने दौडमा अग्रपङ्क्तिमा छन् ।
अर्को शब्दमा भन्दा यो ह्वाइट हाउस दाउमा रहेको भन्दा कम होइन । ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच यस वर्षको जुलाई महिनाको २५ तारिखमा फोनमा कुरा भएको थियो । त्यसक्रममा पूर्व उपराष्ट्रपतिविरुद्ध छानबिन गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप ट्रम्पमाथि छ ।
ट्रम्पले अमेरिकी कंग्रेसले अनुमोदन गरिसकेको युक्रेनलाई दिने २५ करोड डलरको सैन्य सहायताबारे पनि छलफल गरेका हुनसक्छन्, जो ट्रम्प प्रशासनले सेप्टेम्बर महिनाको मध्यसम्म रोकिदिएको थियो । अमेरिकी सञ्चार माध्यमले ट्रम्पले फोन गर्नुभन्दा कम्तीमा एक हप्ताअघि त्यो सहायता रोक्न निर्देशन दिएको उल्लेख गरेका छन् ।
राष्ट्रपतिले सैन्य सहायता रोकेको कुरा मङ्गलवार पुष्टि गरेका छन् तर उनले युक्रेनलाई युरोपेली देशहरूबाट दिइने सहायता बढाउने प्रयास र दबावको रूपमा त्यसो गरेको बताए । उनले फोनवार्तामा जो बाइडनबारे कुराकानी भएको स्वीकार गरेका छन् तर अनुसन्धानका विषयमा दबाव दिएको आरोप अस्वीकार गरे ।
ट्रम्पले भनेका छन्, ‘उनले जेलेन्स्कीसँग अन्य थुप्रै विषयहरूसँगै बाइडन र उनका छोरा हन्टरका बारेमा र भ्रष्टाचारको समस्याका सम्बन्धमा कुरा गरेका थिए । उनले भने, ‘अमेरिकाले युक्रेनलाई सहायता दिन्छ त्यसैले हामी त्यो देश इमान्दार रहोस् भन्ने सुनिश्चितता चाहन्छौँ ।’ ट्वीटरमा ट्रम्पले विवाद डेमोक्र्याटहरूले सिर्जना गरेको भनेका छन्, ‘झुटा समाचार मिडियाहरूले ‘मैले युक्रेनी राष्ट्रपतिसँग टेलिफोन कुराकानीका बेला ८ पटक दबाब दिएको’ लेखेका छन् । यो तथाकथित ‘उजुरीकर्ता’बाट आएको भनिएको छ जोसँग के भएको थियो भन्ने कुराकानीमा पहुँच नै छैन ।
थप डेमोक्र्याट र कुरा बंग्याउने समाचार माध्यम ।’ पछिल्लो ट्वीटमा उनले ‘तथाकथित उजुरीकर्ताको देशभक्ति’ माथि प्रश्न गर्छन् । ‘मानौँ गुप्तचरको देशभक्ति…वास्तविक तथ्यहरू जान्दछन् । के उनी हाम्रो देशको पक्षमा छन्, उनी कहाँबाट आए ? वर्षौँदेखि गलत गर्दै आएका डेमोक्र्याट र शीफकै निम्ति यो सबै ?’, उनले संसद्को गुप्तचरसम्बन्धी समितिका अध्यक्ष एवम् डेमोक्र्याट नेता एडम शीफलाई उद्धृत गरेका हुन् ।
डेमोक्र्याट सांसदहरूले एक गुप्त सुराकीले औपचारिक उजुरीमा उठाएको फोन संवाद महत्वपूर्ण भएको बताएका छन् । त्यसले विदेशी नेतासँग राष्ट्रपतिको व्यवहारमाथि प्रकाश पार्न सघाउने उनीहरूको मत छ ।
ह्वाइट हाउसका आलोचकहरूले, ट्रम्पले जेलेन्स्कीलाई युक्रेनी कुलीनको स्वामित्वको एक ग्यास कम्पनीमा बोर्ड सदस्य रहेका हन्टर बाइडनसँग सम्बन्धित व्यापार गतिविधिबारे अनुसन्धान गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिन दबाब दिएको बताएका छन् । डेमोक्र्याटहरूका भनाइमा हन्टर र उनका बुवाको छविमा धब्बा लगाउन सक्ने भएकाले राष्ट्रपति ट्रम्प युक्रेनले भ्रष्टाचारबारे अनुसन्धान गरोस् भन्ने चाहन्थे । विवादबारे रिपब्लिकनहरूले कमै बोलेका छन् ।
यसले विवादको पक्षपातपूर्ण प्रवृत्ति दर्साउछ । जसलाई दलीय राजनीतिले विभाजित गरिदिएको छ । तर कम्तीमा राष्ट्रपतिका उम्मेदवार भइसकेका एकजना रिपब्लिकन सिनेटर मिट रोम्नीले ट्वीट गर्दै यो प्रकरण ‘तथ्य बाहिर ल्याउन महत्वपूर्ण भएको’ उल्लेख गरेका छन् ।
उजुरी प्राप्त भएपछि गुप्तचर निकायका इन्सपेक्टर जेनरलले नेशनल इन्टेलिजेन्सका कार्यवाहक निर्देशक जोजेफ मग्वाएरलाई जानकारी दिए र विषय ‘गम्भीर’ भएको बताए । कानुन अनुसार गुप्तचरसम्बन्धी संसदीय समितिमा सात दिनभित्र उजुरी दर्ता गराउनु पर्छ । तर त्यसो भएन । न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ कि बदलामा मग्वाएरले वकिलसँग छलफल गरे जसले उनलाई कम्तीमा कानुनी मापदण्डकाका अनुसार विषय ‘गम्भीर’ नभएको बताए ।
परिणाम स्वरूप, मग्वाएरले संसद्को निगरानी समितिका सदस्यहरूले त्यो हेर्न आवश्यक नरहेको निर्णय गरे । सेप्टेम्बर ९ तारिखमा इन्सेपक्टर जेनरलले संसद्लाई उजुरीको स्थितिबारे जानकारी गराए तर विस्तृत बताएनन् ।
संसद्मा डेमोक्र्याटहरूले ट्रम्पको फोन संवादको प्रतिलिपिसहित थप जानकारीको निम्ति आवाज चर्काए । पहिले ट्रम्प प्रशासनले त्यसो गर्न अस्वीकार ग¥यो । तर पछि राष्ट्रपति ट्रम्पले ट्वीटरमा त्यसको पूर्ण र सम्पादन नगरिएको प्रतिलिपि बुधवार सार्वजनिक गर्न स्वीकृति दिएको घोषणा गरे । उनले लेखे, ‘तपाईँ देख्नुहुनेछ, फोन संवाद निकै मैत्रीपूर्ण र पूर्ण रूपमा उचित थियो ।’
राष्ट्रपतिले विदेशी नेतालाई आफ्ना राजनीतिक विपक्षीको तेजोबध गर्ने सूचनाको निम्ति दबाब दिएको सबैभन्दा घातक आरोप छ । यसले हालैको चुनावमा ट्रम्पको अभियानसँग जोडिएको रूसी हस्तक्षेपबारे रोबर्ट मलरले हालै टुंग्याएको अनुसन्धानको सम्झना गराउँछ । अनुसन्धानको प्रतिवेदनले ट्रम्प अभियान र रूसी नागरिकबीच पटक पटक सम्पर्क भएको तथा सन् २०१६ को जुन महिनामा ट्रम्पका छोरासहित उच्च अभियानकर्ताहरूको क्रेम्लिनसम्बद्ध कैयौँ रूसीहरूबीचको बैठक भएको विस्तृतमा उल्लेख गरेको छ । त्यसबारेमा केही वादविवाद भएको थियो तर मलरले अभियोग दर्ता गर्न अस्वीकार गरे ।
युक्रेनलाई ट्रम्पको आग्रह पनि घुससम्बन्धी संघीय नियमको सम्भावित उल्लंघन हुनसक्छ । विशेष अनुसन्धानकर्ता मलरले ट्रम्पले आफूले चालेका कदमका कारण कुनै किसिमको गल्ती गरे पनि न्याय मन्त्रालयको नीति निर्देशक सिद्धान्तले बहालवाला राष्ट्रपतिलाई अभियोग लगाउन रोक लगाएको भन्दै उनी सुरक्षित रहेको निस्कर्ष निकालेका थिए । त्यसले थप सान्दर्भिक प्रश्न निम्त्याएको छ ।
संवैधानिक व्यवस्था अनुसार गैरकानुनी र अनैतिक काम गर्ने राष्ट्रपतिलाई तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’को बहुमतले महाभियोग लगाउन सक्छ तथा सिनेटले दोषी ठह¥याउन वा हटाउन दुई तिहाइ बहुमतको खाँचो पर्छ ।
अमेरिकाको संविधानले ‘राजद्रोह, घुसखोरी वा अन्य उच्च खालका अपराधहरू र दुराचारहरू’लाई महाभियोगको आधार मानेको छ । तर जब यो तल्लो सदनमा आउँछ, जे सुकै भएको होस् बहुमतले त्यसलाई ‘महाभियोगको अपराध’ ठह¥याउन सक्छ । त्यसप्रकरणमा महाभियोगअघि बढाउन नचाहेकी सभामुख पेलोसीले मंगलवार महाभियोगको औपचारिक प्रक्रिया अघि बढाएको घोषणा गरेकी छन् । उनले राष्ट्रपतिले कानुनको उल्लंघन गरेको आरोप लगाएकी छन् । र, ट्रम्पका कदमले संवैधानिक जिम्मेवारीहरूको अवज्ञा गरेको टिप्पणी गरेकी छन् ।
ट्रम्प र उनका वकिलले जो बाइडनमाथि तत्कालीन उपराष्ट्रपतिको हैसियतले सन् २०१६ मा आफ्ना छोराविरुद्धको अनुसन्धान गरिरहेका एक उच्च युक्रेनी अभियोजनकर्तालाई बर्खास्त गराउन सफल प्रयास गरेको आरोप लगाएका छन् ।
बाइडनका छोरालाई युक्रेनको ग्यास कम्पनीले ५० हजार डलर मासिक दिने गर्दथ्यो । ट्रम्प लगायतका भनाइमा, युक्रेनलाई दिइने एक अर्ब डलर ऋणको जमानत रोक्ने धम्की बाइडनले दिएका थिए, जुन आफ्ना छोरा र उनको सम्भावित आपराधिक काम उजागर हुनबाट रोक्न गरिएको थियो । जो बाइडनले भ्रष्ट रूपमा कुनै काम गरेको वा युक्रेनमा छोराको कामबाट प्रभावित भएको संकेत दिने कुनै प्रमाण बाहिर आएका छैनन् । सन् २०१६ मा ट्रम्प ह्वाइट हाउस पुग्ने आकांक्षा राखेका नागरिक थिए । उनको चुनावी अभियानलाई विदेशी नागरिकले सहयोगको प्रस्ताव गरेका हुनसक्छन् ।
अहिले ट्रम्प सबै शक्तिका साथ राष्ट्रपति पदमा छन् । उनीमाथि विदेशी नेतालाई आफ्नो स्वार्थको निम्ति दबाब दिएको आरोप लागेको छ । उनले त्यो कुरा अस्वीकार गरेका छन् । तर उनका आलोचकहरूले सैन्य सहायता रोक्ने चेतावनी दिएर बाइडनविरुद्ध अनुसन्धान थाल्न बारम्बार आग्रह गर्नुले उनको नियत स्पष्ट भएको तर्क गरिरहेका छन् ।
यदि महाभियोग अघि बढ्यो भने कुनै पनि अभियोगमाथि हाउस अफ रिप्रिजेन्टेटिभमा मतदान हुनेछ र डेमोक्र्याटहरूको बहुमत रहेकाले सहजै पारित हुनसक्छ । तर त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ । रिपब्लिनहरूको पकड रहेको सिनेटमा दुई तिहाइ बहुमतको खाँचो पर्छ । डेमोक्र्याटहरूसँग मिलेर आफ्ना राष्ट्रपतिलाई हटाउन ठूलो संख्यामा रिपब्लिकन सिनेटहरू तयार हुने कुनै संकेत अहिलेसम्म देखिएको छैन ।
अमेरिकाको इतिहासमा दुईजना राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो । सन् १८६८ मा एन्ड्र्यु जोनसन र सन् १९९७ मा बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए। तर कोही पनि हटाइएनन् ।
Facebook Comment