सन्दीपले सहयोग नपाउँदा नेपालको हार

डिसी नेपाल
१० असोज २०७६ २०:२४

काठमाडौं। सिंगापुरमा शुक्रबार शुरु भएको त्रिकोणीय टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई जिम्बाबेले 5 विकेटले पराजित गरेको हो।

नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बाबेले ५ विकेटको क्षतिमा १९ औं ओभरमा पूरा गरेको हो। सामान्य लक्ष्य दिएको नेपाललाई सन्दीप लामिछानेले खेलमा फर्काएपनि अन्य बलरको साथ नपाउँदा नेपाल पराजित हुन पुगेको हो। सन्दीपले खेलको दोस्रो ओभरमै जिम्बाबेको पहिलो विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएपछि जिम्बाबे दबाबमा परेको थियो। पाँचौं ओभरमा जिम्बाबेले रनआउटका रुपमा चौथो विकेट गुमाएको थियो।

तर, त्यसपछि नेपालले विकेट लिन लामो समय कुर्नु परेको थियो। ३७ रनमा ४ विकेट गुमाएको जिम्बाबेले ५ औं विकेट ६४ रनमा गुमाएको थियो। पारस खड्काले पाँचौं सफलता दिलाएका थिए। तर त्यसपछि र्यान बर्ल र रिचमोड मुतबानीले नटआउट ६९ रनको साझेदारी गरेपछि नेपालले जित नजिक पुगेर पनि खेल गुमायो।

नेपालका सन्दीप बाहेक अन्य बलरले निकै रन लुटाए। सोमपालले ३ ओभरमा २५ रन दिए भने कुशल मल्ले ३ ओभरमा २८ रन दिए। यस्तै दिपेन्द्र सिंह ऐरीले २ ओभरमा २३ रन दिए। सन्दीपले भने ४ ओभरमा ३ विकेट लिँदै १५ रनमात्र दिएका थिए। पारस खड्काले २ ओभरमा १० रन दिएर १ विकेट लिए।

यसअघि दिपेन्द्र सिंह ऐरीले ४० रन बनाएका थिए भने सोमपालले २५ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन्। यो खेलबाट अन्तर्राष्ट्रिय यात्रा शुरु गरेका नेपालका दुई युवा इशान पाण्डेले ४ रन बनाए भने कुशल मल्ले २ रनमात्र बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *