समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोला गाउँपालिका

डिसी नेपाल
११ असोज २०७६ १०:२९

बागलुङ । ‘समृद्ध ताराखोला’को लक्ष्यसहित जिल्लाको ताराखोला गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ। गाउँपालिकाले विज्ञ, परामर्शदातालगायतको सहयोगमा आवधिक योजनालाई अन्तिम रुप दिएको हो । पाँच वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

योजनाको मस्यौदा छलफल तथा सुझाव सङ्कलनका लागि शुरुमा वडा तहमा पठाइएको थियो । गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, विषयगत शाखाका प्रमुख, विज्ञलगायतको टोलीले आवधिक योजनाको मस्यौदा बनाएका थिए। “पञ्चवर्षीय योजना अब कार्यान्वयनमा जान्छ”, अध्यक्ष घर्तीले भने, “यो ताराखोलाको सपना र भविष्यसँग जोडिएको छ ।” पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ।

साना उद्योगको प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि ‘उद्योग ग्राम’ सञ्चालन गरिने उल्लेख छ। परम्परागत र सीपमूलक व्यवसायलाई उद्यमका रुपमा विकास गर्ने योजना छ। बाँझो जग्गालाई भूमि बैंकको अवधारणामा एकीकृत गरी व्यावसायिक कृषि खेतीलाई विस्तार गरिने भएको छ।

“खाली रहेका खेतीयोग्य जमीन निश्चित समयका लागि गाउँपालिकाले लिने र व्यावसायिक किसानलाई दिने योजना छ”, अध्यक्ष घर्तीले भने, “छुट्टै कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा लैजान्छौँ ।” एकीकृत नमूना कृषि ‘फार्म’का लागि सङ्घीय सरकारबाट चालू आवमा रु दुई करोड बजेट छुट्टिएको र उक्त योजना सञ्चालनका लागि गुरुयोजना निर्माणको काम अघि बढेको जनाइएको छ।

न्यून आय भएका किसानको आयआर्जन सुधारमा पनि गाउँपालिकाले सघाउने नीति लिएको छ। पाँच वर्षभित्र गाउँ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे, गाउँपालिकाभित्रका मुख्य सडकको स्तरोन्नति र कालोपत्रे गर्ने योजना छ। गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई विशेष जोड दिइएको छ।

सडक बोर्डले रणनीतिक सडकका रुपमा लिएको रिजालचोक–अमरभूमि–तारा–म्याग्दी शहीद मार्गलाई गाउँपालिकाले पनि रणनीतिक सडकमार्गका रुपमा स्वीकार गरेको छ। गलकोट नगरपालिका हुँदै ताराखोला गाउँपालिका जोडिने सडक पाँच वर्षभित्र स्तरोन्नति र कालोपत्रे गरिने आवधिक योजनामा उल्लेख छ।

पर्यटनतर्फ घरवास (होमस्टे) कार्यक्रमलाई थप व्यवस्थित र सम्भावित ठाउँमा नयाँ विस्तार गरिने उल्लेख छ । नयाँ गन्तव्य पहिचान र पर्यटनमैत्री पूर्वाधार निर्माणमा पनि गाउँपालिकाको जोड छ । शिक्षा, स्वास्थ्यका कार्यक्रमलाई पनि प्रभावकारी र परिणामुखी बनाइने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बताए । “योजनाबद्ध रुपमा विकास गतिविधि अघि बढाउँछौँ”, उनले भने, “स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै उद्यम विकास, रोजगारी प्रवद्र्धन र उत्पादनमा आत्मनिर्भर गाउँपालिका बनाउने हाम्रो लक्ष्य छ।”

कृषितर्फ आलुखेती, पशुपालनमा बाख्रा, भेडा र भैँसीपालनमा ताराखोला आत्मनिर्भर छ। वनमा आधारित उद्यम विकासको पनि उत्तिकै सम्भावना छ। ताराखोलाबाट आलु, भाँगो, अल्लोका कपडा, नेपाली हाते कागज, काठ, जडीबुटीलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ।

आगामी पाँच वर्षभित्र पाँचवटै वडामा शुद्ध पिउने पानी, बिजुली बत्तीलगायतका आधारभूत सुविधा पु¥याइने उल्लेख छ । वातावरण संरक्षणतर्फ गाउँपालिकाको वडा नं २ मा पर्ने चरीखोला तालको संरक्षण गरिने भएको छ । बहुपहिचान झल्कने सांस्कृतिक सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारिएको छ।

पञ्चवर्षीय योजना कार्यान्वयमा जनशक्ति अभाव, भौगोलिक कठिनाइ, नागरिक सशक्तीकरणको कमीलगायत चुनौतीको रुपमा लिइएको छ।गाउँपालिकाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाईसमेत पञ्चवर्षीय योजनाबारे जानकारी गराइसकेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *