सिपिएलमा क्रिस गेल, आन्द्रे रसेलजस्ता स्टारको जमैका खेल बाँकी छँदै बाहिरियो

डिसी नेपाल
११ असोज २०७६ १४:४९

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावाह सेन्ट लुसिया जोउक्ससँग पराजित भएसँगै यस सिजनमा प्लेअफमा नपुग्दै बाहिरिएको छ । जमैकाले १ खेल अझै खेल्न बाँकी नै छ तर त्यो खेल जिते पनि जमैका प्लेअफ पुग्न सक्ने छैन । शनिबार बिहान भएको खेलमा सेन्ट लुसियाले जमैकालाई ४ विकेटले हराएको हो ।

जमैकाले दिएको १६६ रनको लक्ष्य पछाएको सेन्ट लुसियाले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सेन्ट लुसियाको जितमा १४० किलोका रहकीम कोर्नवेलले आक्रामक ब्याटिंग गर्दै २५ बलमा ५१ रनको शानदार ब्याटिंग गरेका थिए । त्यस्तै हारडस भिलजोएनले ३२ रन बनाए भने आन्द्रे फ्लेचरले १७ रन र डेरेन सामीले १६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो । जमैकाका लागि डवाने स्मिथले सर्वाधिक ५८ रन बनाएका थिए ।त्यस्तै क्रिस गेलले २९ र ग्लेन फिलिपले २३ रन बनाएका थिए । सेन्ट लुसियाका बलर केसरिक विलियम्सले ३ विकेट लिएका थिए ।

यो हारपछि जमैका प्लेअफमा पुग्न असफल भएको छ । ९ खेलमा सातौ हार बेहोरेको जमैकाले केवल २ खेल जितेर ४ अंक हासिल गरेको छ । यसका साथै जमैका प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ ।

यो जितपछि सेन्ट लुसियाको प्लेअफमा पुग्ने सम्भावना कायम रहेको छ । ९ खेलमा ३ जित र ५ हार बेहोरेको सेन्ट लुसिया ७ अंकसहित चौथो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *