क्यान निर्वाचनः ६ जना निर्विरोध निर्वाचित, ११ पदका लागि निर्वाचन जारी

डिसी नेपाल
११ असोज २०७६ १५:००

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)को निर्वाचनमा ६ पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । १७ सदस्यीय कार्यसमितिमा ६ पद निर्विरोध भएपछि बाँकी ११ पदको लागि मतदान भइरहेको छ । यो निर्वाचन नेपाली क्रिकेटको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारणसभालाई निकै चासोका साथ हेरिएको छ ।

क्यानको जारी निर्वाचनमा ६ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यसहित प्रदेश नम्बर २, ४, ५, ६ र ७ का लागि एक–एक जनाको मात्र उम्मेदवारी परेकाले निर्वाचन कमिटीले निर्विरोध निर्वाचित घोषणा गरेको हो । महिला सदस्यमा जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी मोहम्मद, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट एक्ला उम्मेदवार भएपछि निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् । १७ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा प्यानलसहित पाण्डे र चन्द चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । सदस्य पदमा भने प्यानल निर्धारण गरिएको छैन ।

चन्दको प्यानलमा उपाध्यक्ष पदका लागि राजबाबु श्रेष्ठ, सचिवका लागि अशोकनाथ प्याकुरेल र कोषाध्यक्षका लागि रोशन कुमार सिंहको उम्मेदवारी परेको छ । यस्तै पाण्डे प्यानलबाट उपाध्यक्षमा मिग्मा दुन्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ । निर्वाचनमा जिल्ला र प्रदेशबाट आएका ५९ प्रतिनिधिले मतदान गर्दैछन् । नतिजा घोषणा ४ बजेसम्म गरिसक्ने निर्वाचन कमिटिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *