भतिजाको हत्या गरेको आरोपितलाई जन्मकैद

डिसी नेपाल
११ असोज २०७६ १६:४०

सप्तरी । सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए।

जिल्ला अदालतको आदेशमा आरोपित मण्डल २०७३ फागुन १२ गतेदेखि राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा छिन्। तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको अभियोगमा उनकै काकीलाई जन्मकैद सजायको फैसला भएको हो।

घरमा खेलिरहेका बालकलाई २०७३ माघ २३ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले घटनाकै दिन उनलाई पक्राउ गरेको थियो।

घटनाका बेला दाजुभाइ रहेका मृतकका बुबा धर्मदेव खङ्ग मण्डल र आरोपितका पति अशोक खङ्ग मण्डल सिलाइकटाइको कामका लागि भारतको मुम्बईमा बसिरहेका थिए।

मृतकका हजुरबुवा रामदेव खेतमा तथा मृतकका आमा चन्द्रिका र हजुरआमा विणादेवी घाँस दाउरा गर्न जङ्गल गएकी थिइन्। त्यसैबेला जेठानी चन्द्रिकासँगको रिसइबीमा उनले भतिजाको हत्या गरेकी हुन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *