क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित, अन्तर्राष्ट्रिय निलम्बन फुकुवा हुने आशा

डिसी नेपाल
११ असोज २०७६ १६:४१

काठमाडौं। नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएसँगै नेपाली क्रिकेटले साढे ४ वर्ष देखि भोग्दै आएको अन्तर्राष्ट्रिय निलम्बन फकुवा हुने आशा बढेको छ । शनिबार सम्पन्न निर्वाचनमा चन्द अध्यक्षमा विजयी भएका हुन् । चन्द क्यान निलम्बनमा पर्दा समेत अध्यक्ष थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले २०७२ सालमा क्यानलाई निलम्बन गरेको थियो । त्यतिबेला चन्द नै अध्यक्ष थिए ।

आज भएको निर्वाचनमा चन्दले पूर्वअध्यक्ष समेत रहिसकेका विनयराज पाण्डेलाई २९ मतको भारी अन्तरले पराजित गरेका चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत मात्र पाए । सत्र सदस्यीय केन्द्रीय समितिका लागि भएको निर्वाचनमा चन्द समूहको प्यानलै विजयी भएको हो । निर्वाचनमा जिल्ला क्रिकेट संघका ३९ र प्रदेशबाट २० प्रतिनिधि गरी ५९ जनाले मतदान गरेका थिए ।

चन्दको समूहबाट निर्वाचनमा सहभागी भएकाहरू उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्यार्कुयाल र कोषाध्यक्षमा रोशनकुमार सिंह विजयी भएका छन् । आईसीसीले खडा गरेको स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्को रोहबरमा क्यानको निर्वाचन गरेको हो । निर्वाचन पर्यवेक्षण गर्न आईसीसीका प्रतिनिधि काठमाडौंमा छन् ।

निर्वाचनपश्चात नयाँ कार्यसमिति गठन भएपछि आईसीसीले नेपाल क्रिकेट संघमाथि लगाउँदै आएको निलम्बन फुकुवा हुने भनिएकोले यो निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । चार पदाधिकारीबाहेक १३ सदस्य पदका लागि भएको निर्वाचनमा भने ६ जना सदस्य निर्विरोध भएका छन् । प्रत्येक प्रदेशबाट एकजना सदस्य निर्वाचित हुने प्रावधान अनुसार प्रदेश २ मा दाउद अन्सारी, प्रदेश ४ मा ऋषि गौतम, प्रदेश ५ मा प्रशान्त विक्रम मल्ल, प्रदेश ६ मा पदम खड्का र प्रदेश ७ विक्रम विष्टको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । त्यस्तै एक महिला सदस्य पदमा जयन्ती भट्ट एक मात्र महिला सदस्य भएपछि उनी स्वतः निर्विरोध भइन् ।

प्रदेश १ र ३ मा भने दुई–दुई जनाको उम्मेदवारी परेको थियो । जसमा प्रदेश १ सदस्यमा कैलाश विष्ट तथा प्रदेश ३ मा अमितवीर पाण्डे विजयी भए । प्रदेशका उम्मेदवारलाई पनि ५९ जना प्रतिनिधिले मतदान गरेका थिए । खुला सदस्यहरूबाट ५ जना चुनिनेमा ११ जनाको उम्मेदवारी परेको थियो । जसमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, करण महोत्रा क्षेत्री, माधव कुमार कर्माचार्य र संजयराज सिंह विजयी भएका छन् । आइसीसीको नयाँ रोडम्याप अनुसार जिल्ला क्रिकेट संघ, प्रदेश कमिटी र केन्द्रीय समितिको नयाँ ढंगबाट निर्वाचन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *