पारसको शतकमा नेपाल विजयी

डिसी नेपाल
११ असोज २०७६ २०:१४

काठमाडौं। सिंगापुरमा जारी त्रिकोणीय टि ट्वान्टी सिरिजको दोस्रो खेलमा शनिबार सिंगापुरविरुद्ध नेपालका लागि कप्तान पारस खड्काले शतक प्रहार गरेका छन्। उनले  ४९ बलमा शतक बनाएका हुन्।

उनले सो क्रममा ९ छक्का र ६ चौका प्रहार गरेका छन्। पारसले छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए। उनी नेपालका लागि टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी बनेका छन्। पारसले बनाएको शतक ११ औं फास्टेस्ट सतक हो। उनले ग्लेन म्याक्सेवल, मार्टिन गुप्टीलको बराबरी गरेका छन् ।

पारसको शतकमा नेपालले यो खेल ९ विकेट जितेको छ। नेपालले एक विकेटका क्षतिमा १६ ओभरमा सो रन बनायो। नेपालका लागि पारसले नटआउट ५२ बलमा १०६ रन बनाए भने आरिफ शेखले ३८ बलमा ३९ रन बनाए। दोस्रो विकेटका लागि यो जोडीबीच १४५ रनको साझेदारी भयो। टि ट्वान्टी क्रिकेटमा यो नेपालको कुनै पनि विकेटका लागि सर्वाधिक साझेदारी हो।

नेपालले ९ रनको स्कोरमा दोस्रो ओभरमै विकेट गुमाएको छ। इशान पाण्डे ५ रन बनाएर जनक प्रकाशको बलमा एलबीडब्ल्यू आउट भए। उनले एक चौकाको मद्दतमा ५ रन बनाए।

टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३ विकेटमा १५१ रन बनायो। उसका लागि कप्तान टिम डेबिडले सर्वाधिक ६४ रन बनाए। यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन बनाए । अलराउण्डर जनक प्रकाशले २५ रन बनाए।

२२ रनको स्कोरमा पहिलो विकेट गुमाएको सिंगापुरले दोस्रो विकेट ५७ रनमा गुमाएको थियो। तेस्रो विकेट उसले १०२ रनको स्कोरमा गुमाएको थियो।
नेपालका लागि सबैभन्दा सफल बलर करण केसी रहे। उनले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए। राष्ट्रिय टिमबाट डेब्यू गरेका सुशान भारीले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए।

सन्दीप लामिछाने र अभिनाश बोहोराले विकेट नलिए पनि निकै कसिलो बलिंग गरे। लामिछानेले ४ ओभरमा १८ रनमात्र दिए भने बोहोराले ३ ओभरमा १६ रन दिए।

शनिबार सोमपाल कामी भने निकै महंगो सावित भए। उनले ४ ओभरमा ४१ रन दिए। पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *