साफ यू–१८ फुटबलको उपाधिका लागि भारत र बंगलादेश भिड्दै, दुवै टिमलाई इतिहास रच्ने मौका

डिसी नेपाल
१२ असोज २०७६ ९:२७

काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । काठमाडौंको हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् ।

अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो । घरेलु मैदानमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले आइतबार साफ यू–१८ ले नयाँ च्याम्पियन राष्ट्र पाउने छन् । नयाँ च्याम्पियन बन्न भारत र बंगलादेश तयार देखिएका छन् । सेमिफाइनलमा शानदार जित निकाल्न सफल दुवै टिमलाई उपाधिका मुख्य दाबेदार मानिएको छ ।

भारतले समूह चरणमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई ३–० ले हराएको थियो । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४–० ले हराएको थियो । त्यसैले भारत फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रने छ ।

यता, बंगलादेशले समूह चरणमा श्रीलंकालाई ३–० ले नै हराएको थियो । समूह चरणमा भारतसँग बराबरी खेलेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ४–० को फराकिलो जित निकालेको थियो ।

भारतविरुद्ध उपाधिका लागि मैदान उत्रदा बंगलादेश अघिल्ला खेलको नतिजा कायम राख्दै च्याम्पियन बन्न चाहन्छ । भारत र बंगलादेशबीचको फाइनल खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । त्यसअघि बिहान साढे १० बजे एन्फा कम्प्लेक्समा भुटान र माल्दिभ्सबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *