सानो पाथिभरामा प्रसादको भण्डारा लगाइने
भद्रपुर । सानो पाथिभरादेवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ। झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो।
यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौँ पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिए। चैतेदशैँ र बडादशैँ गरी वर्षमा दुईपटक भण्डारा लगाउने गरिएको उनले बताए । यसपटक लगभग छ हजार भक्तजनलाई पुग्ने गरी भण्डारा लगाउने तयारी गरिएको छ।
दशैँको बेला पाथिभरामा भक्तजनको घुइँचो लाग्ने भएकाले दशैँको अवसरमा प्रसादको भण्डारा लगाउने गरिएको पनि अग्रवालले जानकारी दिए। प्रसादको भण्डारा लगाउन थालिएको आधा दशकको यो अवधिमा पाथिभरा भण्डारा समितिले दर्शनार्थीको सुविधाका लागि पाथिभरा क्षेत्रमा विभिन्नखाले सुविधायुक्त संरचनासमेत निर्माण गरिदिएको छ।
पहिलो भण्डारा लगाउँदा पानी बोकेर मन्दिर परिसरमा पु-याउँदा झेल्नु परेको समस्यालाई दृष्टिगत गरी विर्तामोडको मनिषा आइरनले रु छ लाख ५० हजार खर्च गरेर मेची राजमार्ग छेउको मुहानबाट पाइपलाइन विस्तार गरी डाँडाको मन्दिरसम्मै शुद्ध खानेपानीको सुविधा पुर्याएको छ। विर्तामोडकै जनता केवलका सञ्चालक पवन अग्रवालले डाँडामा फिल्टर ट्याङ्की राखी चिसो र तातोपानीको व्यवस्था गरिदिनुभएको छ।
यस वर्षको भण्डारा लगाइने दिन स्टिलका १४ थान बेञ्च पनि सहयोग गर्ने कार्यक्रम रहेको छ भने त्यहाँ जग्गा उपलब्ध हुँदा हनुमान मन्दिर निर्माण गर्ने सोच पाथिभरा भण्डारा समितिले बनाएको छ। व्यवसायीहरुकै सहयोगमा मन्दिर समितिलाई भाँडाकुँडा पनि उपलब्ध गराइएको अग्रवालको भनाइ छ। रासस
Facebook Comment