विष्णु गाउँपालिकाका अध्यक्ष यादवलाई कार्वाही गर्न वडाध्यक्षहरुको माग

काठमाडौं । वडाध्यक्षहरुले सर्लाहीस्थित विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवलाई तत्काल कार्वाही गर्न माग गरेका छन् ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा समेत अध्यक्ष यादवले आर्थिक हिनामिना गरेको दावी गर्दै विष्णु गाउँपालिकाका पाँच जना वडाध्यक्षहरुले कार्वाही गर्न माग गरेका हुन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले सम्बन्धित निकायले गाउँपालिकाका अध्यक्ष यादवमाथि कार्वाही नगरे न्यायका लागि अदालत जान बाध्य हुने चेतावनी पनि दिएका छन्।
विष्णु गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामप्रवेश साहले आर्थिक हिनामिनामा संलग्न गाउँपालिका अध्यक्ष यादवमाथि कार्वाही नभए अदालत तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा न्यायका लागि जान बाध्य हुने बताए।
उनले आफ्ना मान्छेलाई मात्रै गाउँपालिकाको बजेटले पोस्ने काम अध्यक्ष यादवबाट भएकाले पनि आफूहरुले न्यायको खोजी गर्दै काठमाडौं आउनु परेको पनि बताए।
त्यसैगरी वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु रायले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को बजेट समेत आफ्ना आसेपासेलाई बाँडेर हिनामिना गर्ने काम अध्यक्ष यादवले गरेकाले उनलाई कार्वाही गर्न माग गर्नु परेको बताएका छन्।
उनले वडा तहको योजना समेत सार्वजनिक नगरेर अध्यक्ष यादवले आफूहरुमाथि अन्याय गरिरहेको गुनासो पनि गरे।
पत्रकार सम्मेलनमा वडाध्यक्षहरुले सार्वजनिक खरिद ऐनको समेत पटक–पटक उलंघन गर्ने काम गरिरहेको भन्दै गाउँपालिकाका अध्यक्ष यादवप्रति आक्रोश पोखेका थिए।
Facebook Comment