साफ यु–१८ फाइनलः ३ रेडकार्ड दिइएको तनावपूर्ण फाइनलमा भारतलाई उपाधि

डिसी नेपाल
१२ असोज २०७६ १६:४९

काठमाडौं। साफ यु–१८ को फाइनलमा बंगलादेशलाई हराउँदै भारतले उपाधि जितेको छ । अन्तिमको इन्जुरी समयमा निर्णायक गोल गर्दै भारतले उपाधि जितेको हो । यो खेल निकै तनावपूर्ण भएको थियो । खेलमा २ बंगलादेश र १ भारतीय खेलाडीलाई रेडकार्ड दिएर मैदानबाहिर निकालिएको थियो । अन्तिम समयसम्म दुवै टिमले एक–एक गोल गरेका थिए तर इन्जुरी समेमा भारतले बाजी मारेको हो ।

सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै भारतले अग्रता लिएको थियो तर ३८ औं मिनेटमा बंगलादेशले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । खेलमा तनावको स्थिति पहिलो हाफबाट नै सुरु भएको थियो । बिक्रम प्रतापको गोलमार्फत भारतले अग्रता बनाएकोमा बंगलादेशका कप्तान यासिन अराफातले ले गोल फर्काउँदै खेल बराबरी गरेका थिए ।

खेलको २३ औँ मिनेटमा भारतीय खेलाडीमाथि फउल भएपछि तनाव सुरु भएको थियो । फउल भएपछि दुवैतिरका खेलाडीहरु भिडेका थिए । भिडन्तका कारण तनावपूर्ण स्थिति बनेपछि रेफ्रीले भारत र बंगलादेशका भिड्ने १–१ जना खेलाडीलाई रेडकार्ड दिँदै मेदानबाहिर निकालेर खेल संचालन गरे । तर, ३८ औं मिनेटमा बंगलादेशले गोल गरेपछि पुनः तनावको स्थिति सृजना भयो ।

गोल गरेपछि बंगलादेशी कप्तान यासिन अराफतले जर्सी खोलेर टाउकोमाथि पुर्याए । मैदानमा जर्सी खोलेमा फउल हुने नियमअनुसार रेफ्रीले उनलाई पहेंलो कार्ड दिए । संयोगले उनले यसअघि नै एउटा पहेंलो कार्ड पाइसकेका थिए जसका कारण उनको दोस्रो पहेंलो कार्ड रेडकार्डमा परिणत भयो ।

तर, आफूले जर्सी टाउकोबाट बाहिर ननिकालेको भन्दै अराफातले रेफ्रीको निर्णय अस्वीकार गर्दै मैदानबाहिर जान मानेनन् । केही समय बंगलादेशका खेलाडी र प्रशिक्षकले रेफ्रीको निर्णय विरोध गरे तर अन्ततः अराफत मैदानबाट निस्किए । ९ जनामा सीमित बंगलादेश अन्तिम समयसम्म सम्हालिएर खेलेको थियो तर अन्ततः अन्तिममा गोल खान पुग्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *