पर्यटन प्रवद्र्धनमा साथ रहन्छ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
१३ असोज २०७६ ०:२०

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा प्रदेश ३ को सकारात्मक साथ रहने बताएका छन्।

गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९ का अवसरमा आज गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हेटौँडामा आयोजना गरेको पर्यटन प्रवद्र्धन अभियानमा मुख्यमन्त्री पौडेलले गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभियानमा आफू स्वयं सहभागी भएर र प्रदेशका अन्य व्यक्तित्वलाई सहभागी गराएर सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले देशको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सार्थक बनाउन सबै प्रदेशले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले परिवर्तित व्यवस्थाअनुरुप आफूलाई पनि परिवर्तन गर्नुपर्ने उल्लेख गरे।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकाश लम्सालले नेपालीले नेपाललाई चिन्नुपर्छ भनेर गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षका रुपमा २०१९ लाई र २०१९ देखि २०२२ सम्म त्रिवर्षका रुपमा मनाउने जानकारी दिए।

उनले गण्डकी प्रदेशले आगामी पाँच वर्षभित्र पर्यटनमार्फत ठूलो प्रगति गर्ने अपेक्षा राखेको बताउँदै गण्डकी प्रदेशले आगामी तीन वर्षभित्र मात्रै १५ लाख पर्यटक भित्र्याउने अपेक्षा राखेको उल्लेख गरे।

मन्त्री लम्सालले गण्डकी प्रदेश देशका सबै नागरिकलाई स्वागत गर्न आतुर रहेको भन्दै प्रदेश ३ का मुख्यमन्त्रीमार्फत सम्पूर्ण प्रदेश ३ का नागरिकलाई भ्रमणको निमन्त्रणा दिए।

उनले गण्डकी प्रदेशका ३०० वटा होमस्टे र पोखराका ६०० होटल आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण वर्षका अवसरमा विशेष छुटका लागि सम्बन्धित निकायसँग सम्झौतासमेत गरिएको जानकारी दिए।

जिल्ला समन्वय समिति मकवानपुरका रामकृष्ण थापाले मकवानपुर तथा प्रदेश ३ का विभिन्न पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *