१५ वर्षपछि सरुभक्तको प्रतिगन्ध उपन्यास बजारमा

डिसी नेपाल
१३ असोज २०७६ ९:०७

पोखरा । साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन् ।२०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उनी फर्किएका थिए ।

अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गरेका हुन् । लामो समय पछि आउनुको कारणबारे आफैँ प्रष्टाउँदै उनले भने, “म त्यस्तो जाँगरिलो लेखक होइन । मलाई बढी अल्छी मान्न जाँगर चल्छ । जुन बेला अल्छी मान्ने जाँगर चल्दैन । त्यो बेला लेख्छु ।” प्रतिगन्ध भिन्न डायस्पोराको कथा भएको उनले भने ।

सरुभक्तले आफूले यसअघिका किताब त्यति धेरै सम्पादन गर्ने नगरेको भन्दै यसलाई निर्ममतापूर्वक सम्पादन गरेको अनुभव सुनाए । उनले यसका २५० पृष्ठ हटाएको भन्दै झण्डै झण्डै एउटा उपन्यास नै हटाएको बताए । प्रत्येक लेखक आफैँ एक सम्पादक भएको बताउँदै लेखकले आफ्नो कृतिलाई राम्ररी सम्पादन गर्नुपर्नेमा जोड दिए । उनले लामो व्याख्या र वर्णन गर्ने अहिलेसम्मको प्रयोगलाई भत्काएर नयाँ स्वाद दिएको बताए ।

पोखराको पुरानो वाङ्मयी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पछिल्लो पुस्ताका चर्चित युवा आख्यानकाहरु गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्तरुपमा प्रतिगन्धको आइतबार लोकापर्ण गरेका हुन् ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले सरुभक्त जीवन्त लेखाइमा सफल भएको बताए । फरक दृष्टकोणबाट लेखकीय प्रस्तुतिनै उनको विशेषता भएको भन्दै श्रेष्ठले लेखकीय दृष्टिकोण नै निकै गजबको भएको अनुभव सुनाए ।

नथिया कि लेखक सरस्वती प्रतीक्षाले प्रतिगन्धको शक्तिले उपन्यास पढ्ने पाठकलाई फरक स्वाद दिन सफल भएको बताए । एउटै उपन्यासभित्र चार÷पाँच वटा उपन्यास पढेजस्तै लाग्ने यसभित्र विदेशिने युवाको जीवन्त कथा भएको बताए ।

आख्यानकार गनेसले प्रतिगन्ध अमेरिकाकै कुनै लेखकले लेखेको कथाजस्तो लाग्ने बताए । भारतीय, ब्रिटिस, हङकङ लाहुरे हुँदै विस्फोटक रुपमा फेरिएको लाहुरेको परिभाषा र त्यसैअनुरुप अमेरिका पुगेकाको कथा प्रतिगन्धमा रहेको छ । पाठशाला उपन्यासका लेखक गुरुङले प्रतिगन्धमा अमेरिकी लाहुरेहरुको मार्मिक कथा भएको बताए ।

सरभक्तको पागल बस्ती उपन्यासको नयाँ प्रयोगले उनलाई मदन पुरस्कारसमेत दिलाएको थियो भने उहाँका अभिमन्यु, तरुनी खेती, बाल उपन्यास अँध्यारो कोठा, समय त्रासदी र चुली उपान्यास प्रकाशित भइसकेका छन् उनको प्रतिगन्ध सातौँ उपन्यास हो । उनका विभिन्न विधामा झण्डै ५० कृति प्रकाशित छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *