कोटखोलाको बाढीले बेपत्ता भएका २ बालिकामध्ये एकको शव फेला

डिसी नेपाल
१३ असोज २०७६ ९:२७

गलेश्वर । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए।

उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार शव आफन्तको जिम्मा लगाइएको छ। बगरफाँट स्थायीरुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए । बेपत्तामध्ये अनुश्का परियारको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

खोलाले धार परिवर्तन गरी बस्तीतिर आएको बाढीले बगरफाँटमा स्थायीरुपमा बस्ने दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ भने तीन घरमा आंशिक क्षति गरेको छ । सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ।

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गरेका हुन्। जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गरेका हुन्।

रोका र उनको परिवारद्वारा आयोजित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शुरु भएको निःशुल्क दन्त शिविरलाई सम्बोधन गर्दै मोना अष्ट्रेलियाका अध्यक्षसमेत रहनुभएका रोकाले स्वास्थ्य केन्द्रमा विपन्न नागरिक औषधोपचार र स्वास्थ्य सामग्री खरीदका लागि सहयोग गरिएको बताए।

समाजसेवी अध्यक्ष रोकामगर र उनको परिवारद्वारा आयोजित शिविर आइतबार सम्पन्न भएको छ। पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई लक्षित गरी आयोजित निःशुल्क दन्त शिविरमा ७०० बढीले सेवा लिएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *