‘नन्इस्यूलाई ‘इस्यू’ बनाएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट

डिसी नेपाल
१३ असोज २०७६ १४:४६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाएका हुन्।

सोमबार ललितपुरको भैंसिपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास गर्दै उनले सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएपनि त्यसको चर्चा समेत नगरिएको गुनासो समेत गरे।

‘केही पनि भएन भनेर, केही पनि भएको छैन भनेर निरासा फैलाउन खोज्ने, भएका कामहरुको चर्चा नगर्ने एकथरी प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘ननइस्यू’लाई ‘इस्यू’ बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दावी गरे। उनले मोतीहारी–अमलेखगंज पेट्रोलियम पदार्थको पाईप लाईन विस्तार गरिएको स्मरण गराए।

प्रधानमन्त्री ओलीले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे। ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाई भएको उनको स्पष्टिकरण थियो।

प्रधानमन्त्री ओलीले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने बताए। सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खवर गर्न पनि प्रधानमन्त्री ओलीको सार्वजनिक अपिल छ।

उनले देशलाई छिट्टै भिखमंगामुक्त बनाउने घोषणा गरे। प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारसँग निरन्तर सम्पर्क गर्नुपर्ने भएकाले ललितपुरमा उनीहरुका लागि निवास तथा सम्पर्क कार्यालय स्थापना गर्नु परेको जनाए। उनले ललितपुरको सैवु आवास क्षेत्रमै केही समय भित्रै संघीय मन्त्रीहरुको निवास बनाउने कार्य सुरु हुने बताए।

सरकारले चालू आर्थिक वर्ष भित्रै स्टेट गेष्ट हाउस, सभाहल र संघीय संसदका सांसदहरुको आवास निर्माणको कामलाई पनि सुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

यस अघि प्रधानमन्त्री ओलीले ३ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी सिंहदरबारमा संघीय संसद भवन र बालुवाटारमा प्रधानमन्त्री निवास नयाँ भवनको पनि शिलान्यास गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *