कुमाल बस्तीमा स्वास्थ्य शिविर
काठमाडौं । सन्धिखर्क ५ बेलेवाङका ५५ वर्षीय हरि कुमाललाई बेलाबेलामा पेट दुख्ने समस्या थियो।
जिल्ला अस्पताल पुगी भिडियो एक्सरे गरेर रोग पहिचान गर्ने सोच बनाए पनि उनी अस्पताल पुग्न भ्याएका थिएन। गाउँमै आएको स्वास्थ्य शिविरले भिडियो एक्सरे सेवा प्रदान गरेपछि उहाँले त्यसबाट लाभ लिन पाए ।
‘बेलाबेलामा पेट दुखिरहन्थ्यो’ उनले भने, ‘डर लागिरहेको थियो, तर खासै समस्या रहेनछ ढुक्क भएँ।’ उनले भिडियो एक्सरे मात्र गरेनन् मुटुको जाँच र प्रेसर पनि जाँच गरे।
स्थानीयवासी पोमबहादुर कुमालले पनि पिसाब र रगत जाँच गराए। ‘केही दिनदेखि ज्वरो आइरहेको थियो’, उनले भने, ‘गाउँमै स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी लाग्यो।’
अर्का स्थानीयवासी मनकला भुसालले पनि शिविरमा दाँत फाल्नुका साथै मटुको परीक्षण गराए। दैलामै डाक्टरसाब आएर जाँच गरे’ ८० वर्षीया भुसालले खुशी हुँदै भने, ‘दाँतले निकै दुःख दिइरहेको थियो, अब सायद समस्या नहोला ।’
विश्व मुटु दिवसको अवसरमा लायन्स/लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले यहाँ आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा करीब एक हजार ५०० जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरको समापन गर्दै प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले स्वास्थ्य क्षेत्रमाथि कसैले पनि खेलवाड गर्न नहुने बताए। ‘स्वास्थ्य क्षेत्रको विकासले अन्य क्षेत्रको विकासलाई पनि टेवा पुर्याउँछ’ उनले भने, ‘राज्यले ठोस् योजना बनाएर यसको विकासमा लाग्नुपर्छ। पछिल्लो समयमा धेरै मानिसले मिर्गौला क्यान्सर, हृदयघातका कारण ज्यान गुमाइरहेका छन्।’
उनले खानपिनमा ध्यान दिई समय÷समयमा स्वास्थ्य परीक्षण गर्ने बानी सबैले बसाल्नुपर्छ भन्दै जिल्ला अस्पताललाई सुविधा सम्पन्नसहित ५० श्याको बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।
बलेवाङमा कुमाल समुदायको बाहुल्य रहेको छ। शिविरबाट यो समुदाय लाभान्वित भयो। शिविरमा सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग पुर्याएका थिए।
सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर र अन्य डाक्टर तथा नर्सहरुले स्वास्थ्यपरीक्षण गरेका छन्। बर्दीमा रहेका प्रहरीले मुस्कानसहित स्वास्थ्यपरीक्षण गरेको देख्दा स्थानीयवासी दङ्ग परे।
Facebook Comment