च्याम्पियन्स लिगः पहिलो जितको खोजिमा रियल, सिटीलाई डाइनामोको चुनौति

डिसी नेपाल
१४ असोज २०७६ ९:५४

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत स्पेनिस क्लब रियल मड्रिडले आज राति क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्दैछ । रियलले घरेलु मैदानमा बेल्जियमको क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्ने छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०ः४० मा सुरु हुनेछ ।

घरेलु मैदानमा रियल पहिलो जितको खोजीमा हुनेछ । समूह चरणको पहिलो खेलमा पराजित रियल घरेलु मैदानमा पहिलो अंक जोड्न चाहन्छ । समूह चरणको पहिलो खेलमा रियल पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३–० ले पराजित भएको थियो । तर, क्लब ब्रुगविरुद्ध रियल उक्त गल्ति नदोहोर्याउने लक्ष्यमा हुनेछ ।

समुह ए मा अंक विहिन रियल पुछारमा रहेको छ । १ अंक जोडेको क्लब ब्रुग भने दोस्रो स्थानमा छ । पहिलो खेलमा क्लब ब्रुगले गालातासारेसँग गोलरहित बराबरी खेलेको थियो ।

क्लब ब्रुग पनि पहिलो जित निकाल्ने योजनामा हुनेछ । त्यसैले पाहुना टोलीले रियललाई कठिन चुनौती दिनेछ । घरेलु मैदानमा रियलका ग्यारेथ बेल र जेम्स रोड्रिगेज टिममा हुने छैनन् । तर,सर्जियो राम्रोस, इस्को र मार्सेलो टिममा फर्किएका छन् ।

यस समूहमा ३ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ । पीएसजीले गालातासारेसँग उसैको मैदानमा खेल्नेछ । दुईबीचको खेल राति १२ः४५ मा सुरु हुनेछ । पीएसजी लगातार दोस्रो जितको खोजीमा हुनेछ । १ अंक जोडेको गालातासारे दोस्रो जितको खोजीमा हुनेछ।

यस्तै च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग प्रतिस्पर्धा गर्दैछ । सिटीले घरेलु मैदानमा डाइनामोको चुनौती सामना गर्नेछ । सिटी र डाइनामोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इदिहाद स्टेडियममा सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा शाख्तर डोनेक्स्टलाई ३-० ले हराएको सिटी उक्त जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यस्तै सिटी डाइनामोलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ । सिटीले १ खेलमा ३ अंक जोडेको छ ।

यता, डाइनामो पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा एट्लान्टालाई ४(० ले हराएको डाइनामो शीर्ष स्थानमा छ । सिटीविरुद्ध डाइनामो त्यहिँ प्रदर्शनलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यसै समूहको अर्को खेलमा एट्लान्टाले शाख्तर डोनेक्स्टसँग खेल्नेछ । दुवै टोली पहिलो अंकको खोजीमा हुने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *