ट्रम्पका निजी वकिललाई महाभियोगसम्बन्धी कागजपत्र पेस गर्न आदेश

डिसी नेपाल
१४ असोज २०७६ १२:३१

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिललाई कङ्ग्रेसले राष्ट्रपतिविरुद्धको महाभियोग छानबिनसँग सम्बन्धित कागजपत्रहरू उपलब्ध गराउन आदेश दिएको छ।

विपक्षी डेमक्र्याटिक पार्टी नेतृत्वका कङ्ग्रेसका तीनवटा समितिले ट्रम्पका वकिल रूडी जुलिआनीलाई युक्रेनसँग सम्बन्धित दस्ताबेजहरू पठाउन निर्देशन दिएको हो।

जुलिआनीलाई पठाएको पत्रमा ती संसदीय समितिहरूले ट्रम्पका वकिलले राष्ट्रपतिका चासोलाई सम्बोधन गर्न सहयोगीको भूमिका खेलेको भन्ने आरोपबारे अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

जुलिआनीकै भनाइले पनि उनले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमक्याट्रिक पार्टीबाट सम्भावित उम्मेदवार जो बाइडेनका कमीकमजोरी खोतल्न युक्रेनलाई दबाव दिएको सङ्केत गरेको ती समितिको ठहर छ।

ट्रम्पका भूतपूर्व चुनाव प्रचारक पल म्यानाफोर्टविरुद्धका प्रमाण पेस गर्ने युक्रेनीहरूविरुद्ध पनि मुद्दा चलाउन जुलिआनीको दबाव दिएको दाबी गरिएको छ।

जुलिआनीले आफ्नो निर्देशन पालना नगरे उनले कङ्ग्रेसको अवहेलना गरेको ठहरिने र त्यस कसुरमा उनलाई अदालत लैजान सकिने चेतावनी ती संसदीय समितिहरूले दिएका छन्।

अमेरिकी गुप्तचर निकाय सीआईएसँग संबद्ध गुप्तचर भएको भन्ठानिएका एक सुराकीले ट्रम्पले आफ्ना प्रतिस्पर्धीविरुद्ध विदेशी नेतालाई दबाव दिएको दाबीसहित उजुरी दिएका थिए।

यसैबीच अस्ट्रेलिया सरकारले राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री स्कट मरिसनलाई म्युलर जाँचबुझ कहाँबाट सुरु भयो भन्ने विषयको अनुसन्धान गर्न सहयोग गर्न अनुरोध गरेको पुष्टि गरेको छ।

गत साता मरिसनको ह्वाइट हाउस भ्रमणका बेला त्यस्तो अनुरोध गरिएको थियो र न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार त्यो कुराकानीको विवरण लुकाउन सुरक्षा प्रतिबन्ध लगाइएको छ।

ट्रम्पले सन् २०१६ को चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई फोहोरी खेल भन्दै आएका छन्। त्यस विषयमा अस्ट्रेलियाली अधिकारीहरूबाट प्राप्त सुराकीका आधारमा एफबीआईले अनुसन्धान सुरु गरेको थियो।

यसअघि ट्रम्पले आफूविरुद्ध महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेका कङ्ग्रेस सदस्यलाई देशद्रोहको आरोपमा पक्राउ गरिनुपर्ने बताएका थिए।

कुनै प्रमाणबिनै संसद्‌को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमक्र्याटिक नेता एडम शिफले अमेरिकी तथा युक्रेनी राष्ट्रपतिबीचको फोनवार्ताको टिपोटलाई अवास्तविक रूपमा प्रस्तुत गरेको ट्रम्पले आरोप लगाएका छन्।

ट्रम्पले उनलाई पदबाट हटाइए गृहयुद्ध हुने भनी एकजना प्यास्टरले फक्स न्यूजलाई बताएको कुरा पनि उद्धृत गरेका छन्। ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा छानबिन सुरु गराउने उजुरीकर्ताका वकिलहरूले राष्ट्रपतिका भनाइले आफू असुरक्षित भएको बताएका थिए।

आगामी राष्ट्रपतीय निर्वाचनमा डेमक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने अनुमान गरिएका जो बाइडनविरुद्ध ट्रम्पले युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिएको आरोप लागेको छ।

ह्वाइट हाउसले पछि सार्वजनिक गरेको वार्ताको लिखित प्रतिलिपिमा त्यसलाई पुष्टि गर्ने आधार देखिएको छ। डेमक्र्याटिक सांसदहरूले ट्रम्पविरुद्ध संसदीय समितिमै अनुसन्धान सुरु गराएका छन्।

बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यतिबेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए। अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिन डेमक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न सक्ने बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *