बैतडीका ग्रामीण सडक अवरुद्ध

डिसी नेपाल
१४ असोज २०७६ १३:०७

 विनोदसिंह विष्ट

बैतडी । दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महङ्गो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको स्थानीयवासीले बताएका छन् । विभिन्न ठाउँबाट दशैँं मनाउन आफ्नो पुख्र्यौली थलोमा फर्कनेलाईसमेत समस्या भएको छ ।

जिल्लाको तल्लोसोराड जोड्ने पाटन–पञ्चेश्वर सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा बाधा पुगेको मेलौलीका केशवसिंह भाटले बताए । सडक हिलाम्य हुँदा दशैँका लागि घर फर्कने तथा पुख्र्यौली घरमा आउनेहरु महङ्गो भाडा तिरेर यात्रा गर्न बाध्य भएका उनले बताए ।

यस्तै देहीमाडौंँ गिरेगडा सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ठाउँठाउँमा सडक चिप्लो भएकाले यात्रा गर्न निकै असहज हुने गरेको स्थानीय पदमराज जोशीले जानकारी दिनुभयो । सतबाँझ श्रीभावर सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको चालक किशोर मडैले जानकारी दिए ।

लगातारको वर्षात्ले सडकमा गाडी गुडाउन असहज भएको छ । यस्तै श्रीभावर हाट, दुदिलाखान गाँजरी, अनारखोली कैलपाल लगायतका सडकमा पनि वर्षातका कारण सवारी साधन सञ्चालनमा समस्या आएको छ । दशैँको मुखमा वर्षा भएकाले दशैँका लागि तराईबाट पहाड झरेकालाई गन्तव्यमा पुग्न मुस्किल भएको छ । कतिपय ठाउँमा हिँडेरै जानुपर्ने बाध्यता आइलागेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *