आजदेखि धुञ्चे पोखरा बस सेवा सञ्चालन
रसुवा। आउँदै गरेको पर्यटन वर्षलाई केन्द्रित गरी आन्तरिक एवं बाह्य पर्यटकको यात्रा सफल पार्न आजदेखि पहिलो पटक धुञ्चे पोखरा बस सेवा सञ्चालन भएको छ।
रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवं सो बस सञ्चालकका वरिष्ठ सल्लाहकार सञ्जीव अमात्यका अनुसार रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड, तथा लाङटाङ क्षेत्र र तामाङ सम्पदा मार्गको भ्रमण सहज र सरल बनाउने उद्देश्यले धुञ्चेदेखि पोखराको लेकसाइटसम्म नियमित बस सेवा सञ्चालन गरिएको हो।
टिमुरे यातायात प्रालि र पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको सहकार्यमा सञ्चालन भएको उक्त बस सेवाको भाडादर प्रतिव्यक्ति ८५० कायम भएको बताइएको छ। रसुवा पोखरा बस सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले संयुक्त रुपमा शुभारम्भ गरेका थिए।
बिहान ७ बजे धुञ्चेबाट पोखराको लागि एक वटा र पोखराबाट धुञ्चेका लागि एक वटा बिहान ६ः४५ बजे छुट्ने वरिष्ठ सल्लाहकार अमात्यले जानकारी दिए।
बस सञ्चालनले हिमाली प्रकृति छटाको अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज भएको र अर्कोतर्फ पोखरा र रसुवाको आत्मीयता गाँसिनेमा आफूहरु आशावादी भएको स्थानीयवासीले बताएका छन्। पोखराबाट धुञ्चे पुग्ने समयावधि आठ घण्टा लाग्ने चालकले बताएका छन्। रसुवाका बासिन्दाले पोखरा घुम्न र पोखरा कास्कीका बासिन्दाले पवित्र तीर्थ गोसाइँकुण्डस्थित शिवजीको दर्शन एवं रसुवागढीको अवलोकन गर्नसमेत सहज हुने तथा यस क्षेत्रका व्यापार व्यवसायसमेत अभिवृद्धि हुने पर्यटन व्यवसायीको विश्वास छ।
Facebook Comment