अर्को महिना नेपाली क्रिकेटको निलम्बन फुकुवा हुने आइसीसीको संकेत

डिसी नेपाल
१४ असोज २०७६ १५:०४

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाल क्रिकेट संघमाथि लगाइएको साढे ३ वर्ष लामो निलम्बन फकुवा हुने संकेत गरेको छ । आइसीसीले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो संकेत गरेको हो । नेपाल क्रिकेट संघको नयाँ निर्वाचित कार्यसमितिलाई बधाइ दिन र निर्वाचन प्रक्रियाको स्वागत गर्न आइसीसीले प्रकाशन गरेको विज्ञप्तिमा नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्नको लागि आइसीसीको अर्को महिना दुबइमा हुने बोर्ड बैठकमा प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।

आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘काठमाडौंमा भएको यो विकासक्रमप्रति हामी खुसी छौं, जुन पछिल्लो तीन वर्षदेखि जारी आईसीसीको सुधार प्रयासको परिणाम हो र यसले नेपाली क्रिकेटमा एकता ल्याएको छ ।’ यो सम्झनलायक प्रगतिका लागि प्रशंसक, खेलाडी, प्रशासकलगायत सबैलाई बधाई दिएका छन् । साथै सल्लाहकार समूह र स्वतन्त्र टोलीलाई विशेष धन्यवाद दिएको छ ।

प्रतिबन्धका बाबजुद नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको, युवा र महिला टिमले राम्रो प्रदर्शन गरेको भन्दै आईसीसीले यसले निलम्बनपछि पनि राष्ट्रिय टिमलाई खेल्न दिने आफ्नो निर्णय सही भएको पुष्टि गरेको बताएको छ । आईसीसी उपाध्यक्ष ख्वाजाले नयाँ कार्यसमितिले मैदानमा पनि प्रगति गर्ने आशा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आईसीसीको निलम्बन फुकुवाका लागि प्रमुख शर्त पूरा भएको छ । अब दुबईमा बस्ने आईसीसी बोर्ड बैठकले आगामी कदमबारे निर्णय गर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *