छोटी भन्सारको जाँचपास सेवा अझै कार्यान्वयनमा आएन

नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा जाँचपास सेवा विस्तार गरे पनि सेवा व्यवहारिकरूपमा कार्यान्वयनमा आउन सकेको छैन।
सो कार्यालयबाट एक महीनाअघि रु २५ हजारसम्मको जाँचपास सेवा प्रारम्भ गरिए पनि सेवाग्राही नआउने गरेकाले सेवा कार्यान्वयनमा आउन नसकेको हो।
व्यापारीलाई लक्षित गरी भारतीय बजारबाट रु २५ हजारसम्मको सामग्री नेपालतर्फ ल्याउँदा भन्सार महसुल बुझाउने सेवा अर्थात् जाँचपास सेवा प्रदान गर्ने कार्यालयको लक्ष्य थियो।
नजिकको भारतीय बजारबाट सामग्री नेपालतर्फ ल्याउँदा भारतीय सुरक्षाकर्मीले रोक लगाउने कारणले व्यापारीहरु सेवा लिन नआउने गरेका कार्यालय सहयोगी मानसिंह बानियाँले बताए ।
सरकारले छोटी भन्सारबाट पहिलो चरणमा रु २५ हजारसम्मको जाँचपास सेवा सञ्चालन गरे पनि कार्यान्वयनमा लैजानु मुख्य चुनौती रहेको उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारीले बताए।
Facebook Comment