आइपिएलको खेलाडी लिलामी डिसेम्बर १९ मा, नेपाली खेलाडी सन्दिपमाथि संकट

डिसी नेपाल
१५ असोज २०७६ १२:१८

काठमाडौं। इण्डियन प्रिमियर लिगको २०२० सिजनको लागि खेलाडीको लिलामी आगामी डिसेम्बर १९ मा कोलकातामा हुने भएको छ । कोलकातामा पहिलो पटक लिलामी हुन लागेको हो । यसअघि धेरैजसो लिलामी बैंगलोरमा हुने गरेको थियो । खेलाडीको ट्रेडिङ विन्डो १४ नोभेम्बरमा बन्द हुनेछ । इएसपिएनक्रिकइन्फोका अनुसार आठै फ्रेन्चाइजीहरुलाई यसबारे जानकारी दिइएको छ ।

यस वर्ष लिलामीको लागि हरेक टिमलाई कूल ८५ करोड दिइनेछ । यो गत वर्षको तुलनामा ३ करोड बढी हो । लिलामीमा कति खेलाडीले सहभागिता जनाउनेछन् भन्ने अहिले नै सार्वजनिक गरिएको छैन । गत वर्षको लिलामीपछि दिल्ली क्यापिटल्ससँग सबैभन्दा धेरै ८.२ करोड रुपैयाँ बजेट बाँकी छ । रोयल च्यालेन्जर्स बैंगलोरसँग सबैभन्दा कम मात्रै १.८ करोड बाँकी छ । यसमा सबै फ्रेन्चाइजीहरुले ३ करोड रुपैयाँ थप पाउनेछन् ।

आइपिएल २०२१ को लागि सबै खेलाडीहरु लिलामी प्रक्रियाबाट जानुपर्नेछ तर यस पटक भने फ्रेन्चाइजले अनुबन्ध गरेका खेलाडीहरु नै रिटेन गर्न पाउँछन् । त्यसैले यसपटक लिलामी सानो हुनेछ । पछिल्लो पटक ठूलो लिलामी जनवरी २०१८ मा भएको थियो । त्यतिबेला टिमलाई मात्रै ५ खेलाडी रिटेन गर्न छुट दिइएको थियो ।

यसपटकको लिलामीमा सबैभन्दा धेरै बजेट दिल्ली क्यापिटल्ससँग रहेको र उसले आफ्नो चाहना पनि बताइसकेको हुँदा यो फ्रेन्चाइजमा आबद्ध नेपाली खेलाडी सन्दिप लामिछानेमाथि संकट बढेको छ । दिल्लीले यसै वर्षको ट्रेडिङ विन्डोबाट मुम्बइका स्पिनर मयंक मार्कण्डेलाई ल्याएको छ । उता किंग्स ११ पंजाबले आफ्ना कप्तान रविचन्द्रन अश्विनलाई रिलिज गरेकोमा उनलाई पनि अनुबन्ध गर्ने दिल्लीको तयारी छ । अश्विन दिल्लीमा आउने लगभग निश्चित छ । यस्तोमा नेपाली बलर सन्दिप लामिछाने संकटमा पर्न सक्छन् ।

यसपटकको ट्रान्सफर विण्डोबाट मयंक मार्कण्डेलाई अनुबन्ध गरेको दिल्लीसँग स्पिनर धेरै भएका छन् । २०१८ को सिजनमा सन्दिप लामिछाने, अमित मिश्रालाई लिएर खेलेको दिल्लीले २०१९ को सिजनमा अक्षर पटेललाई ल्यायो । त्यसपछि नै स्पिनरबीच को खेल्ने भन्ने प्रतिस्पर्धा बढिसकेको थियो । यसपटकको ट्रान्सफर विन्डोबाट मार्कण्डेलाई पनि ल्याइएपछि सन्दिपले मौका पाउन कठिन भइसकेको छ ।

मुम्बइबाट २०१८ को सिजनमा खेलेका मार्कण्डेले १४ खेलमा १५ विकेट लिएका थिए । तर, २०१९ को सिजनमा मुम्बइबाट राहुल चहर चम्किएपछि मार्कण्डेले ३ खेलमा मात्र मौका पाए । राहुल चहर पाएपछि मार्कण्डे आफूलाई आवश्यक नपर्ने ठानेर मुम्बइले उनलाई बेच्यो तर दिल्लीमा उनी सन्दिपको प्रतिस्पर्धी बनेर आए । त्यसमाथि यसपटकको अक्सनमा दिल्लीले अश्विनलाई किनेमा सन्दिपमाथि थप संकट आउनेछ । सन्दिपको मूल्य मात्रै २० लाख भएकोले दिल्लीले उनलाई रिलिज त नगर्ला तर खेलमा मौका पाउने सम्भावना भने घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *