सामाजिक संस्था हेल्प नेपालले विश्व वार्षिकोत्सव मनाउने
काठमाडौं। सामाजिक काममा सक्रिय हेल्प नेपालले विश्व वार्षिकाेउत्सव मनाउने तयारी गरेको छ। सामाजिक काममा विगत २० वर्षदेखि सक्रिय हेल्प नेपालले आफ्नो २० औं विश्व वार्षिकोत्सव असोज २६ गते राजधानीमा मनाउने भएको हो।
हेल्प नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न मुलुकका प्रतिनिधि काठमाडौं आउने र काठमाडौंमा २० औं वार्षिकोत्सव मनाउने जानकारी दिइएको हो।
विश्व वार्षिकोत्सवमा समाजका ‘दानवीर र कर्मवीर’ लाई सम्मान गरिने हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले जानकारी दिए।
‘२० अगाडि एउटा उद्देश्यले हेल्प नेपाल नेटवर्क स्थापना भएको थियो। एक डलर वा एक पाउन्ड उठाएर नेपालमा सहयोग गर्ने एउटा साधारण सोच थियो। विशेष गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने उद्देश्य थियो,’ अध्यक्ष बस्नेतले भने, ‘यसलाई हामीले आफ्नो काम धन्दा गरेर बचेको समय र पैसाले व्यावहारिक परोपकार गर्ने भन्ने हेतुले हेल्प नेपाल नेटवर्क स्थापना गरेका थियौं। हामीले धेरै काम गरेको जस्तो पनि लाग्दैन। कुनै बेला धेरै काम परियो पनि, यसरी काम सुरु गरेको २० वर्ष भएछ।’
हेल्प नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आँखा रोग विशेषज्ञ डा. सुन्दुक रोईत, समाजसेवी श्रीजंग शाह र मोफशलबाट समाजसेवी निरादेवी साहलाई सम्मान गर्ने भएको छ।
डा. रोईतले आँखाको उपचारमा ख्याति कमाएका छन् भने श्रीजंग शाहले आफ्नो तीन अर्बको सम्पत्ति दान गरेका छन्। यसैगरी निरादेवी साहले जनकपुरमा बेवारिसे बालबालिकालाई आश्रय दिएर हुर्काउने, बढाउने र पढाउने काम गर्दै आएकी छन्।
हेल्प नेपालले स्थापना दिवसको दिन शताब्दी पुरुष सत्यमोहन जोशीको अध्यक्षतामा कार्यक्रम गर्ने र सबै दलका नेताबाट सम्वोधन गराउने भएको छ।
यसैगरी गैर आवासीय नेपाली संघ एनआरएनका संस्थापक र पूर्व अध्यक्षलाई समेत बोलाएर हेल्प नेपालका बारेमा जानकारी दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
२० वर्षको अवधिमा हेल्प नेपालले विकट ठाउँमा स्कुलका भवनहरु, हेल्थ क्याम्पह्, आँखाको अपरेशन, इ–लाइब्रेरी, प्राकृतिक प्रकोप बाढी, पहिलो आगलागी, भूकम्पमा उदाहरणीय काम गरेको छ।
हेल्प नेपालले भूकम्पपछि ७ वटा स्कुलका भवनहरु बनाइसकेको छ भने दुईवटा ठूला स्कुलका भवन सकिने क्रममा छन्। त्यसैगरी ४० भन्दा बढी इ–लाइब्रेरी बनाइसकेको छ।
Facebook Comment