बालविवाह रोक्न सञ्जाल गठन
सिरहा । मुलुकका कतिपय स्थानहरुमा अझैपनि बालविवाह विकराल समस्याको रुपमा देखिदै आएको बेला सिरहास्थित एक संस्थाले बालविवाह रोकथामका लागि वडा स्तरीय संजाल गठन गरेको छ ।
दलित विकास मञ्च सिरहाले समाजमा बालविवाह रोकथाम गर्ने उद्देश्यका साथ कल्याणपुर नगरपालिकाको वडा नं १ मा १३ सदस्यसहितको बालविवाह रोकथाम सञ्जाल गठन गरेर उदाहरणीय कार्य गरेको हो।
बालविवाह न्यूनीकरण कार्यक्रम अन्तरगत गठन गरिएको सञ्जालको अध्यक्षता कल्याणपुर नगरपालिका वडा नं १ का अध्यक्ष जयराम कामतीले गरेका थिए ।
नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने व्यवस्था रहेको भएपनि कतिपय ठाउँमा अहिले पनि बालविवाह हुने गरेको पाइएको छ।
कायर्क्रमका प्रमुख अतिथि वडाध्यक्ष कामतीले बालविवाह गर्नेले वडा कार्यालयले उपलब्ध गाराउने सुविधाहरू नपाउने बताए। उनले २० वर्ष नपुगी विवाह गर्नेलाई विवाह दर्ता, जन्म दर्तालगायतका प्रमाणपत्रहरु वडा कार्यालयले नदिने जिकिर गरे।
बालविवाहका कारण तराईलगायत मुलुकका कतिपय स्थानमा महिलाहरुको पाठेघरमा समस्या हुने गरेको छ। समाजमा चेतनाको कमीले बालविवाह हुने गरेको अनुभव सुनाउँदै कायर्क्रममा जनस्वास्थ्यका प्रमुखले बालविवाहकै कारण महिलाहरूको पाठेघरमा समस्या हुने गरेको सुनाए।
श्याम स्मृति युवा क्लवका अध्यक्ष रामदयाल मण्डलले समाजमा बालविवाह एउटा बिकृतिको रूपमा रहेकाले यसलाई रोक्नु पर्नेमा जोड दिए ।
कायर्क्रममा स्वागत मन्तव्य कायर्क्रम संयोजक सरिता महराले राखेकी थिइन् भने कार्यकमको अध्यक्षता संस्थाकी अध्यक्ष रूणाकुमारी महराले गरेकी थिईन्।
Facebook Comment