पहिरो पीडितलाई घर हस्तान्तरण
म्याग्दी। प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरो पीडितहरुको घर पुननिर्माण भएको छ।
अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पुननिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण गरिएको छ।
वडा न.८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो।
समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, उपाध्यक्ष सिमा गर्बुजा पुनले घरको शिलालेख अनावरण गरेर घर हस्तान्तरण गरेका थिए।
समाजले सिमेन्ट, जस्तापाता, रड, ब्लक, बालुवा लगायत निर्माण सामग्री खरिद गर्न सहयोग गरेको हो। नौ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएकोमा १४ लाख १९ हजार ४३५ रुपैयाँ खर्च भएको वडा अध्यक्ष हरिविकास जिसीले बताए।
समाजले प्रतिपरिवार थप एक, एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ। निर्माण सामग्री पाएपछि थप लगानी गरेर घर बनाएको पहिरो पिडित वुद्धी परियारले बताए। दुई कोठे भवन र शौचालय सहितको घर बनाइएको हो।
यसअघि पोखराको असल छिमेकी नेपालको ७९ लाख २८ हजार रुपैयाँ सहयोगमा बेरनेतामा १७, लस्तिमा ७ र मिलनचोकमा एक वडा घर पुननिर्माण गरेर हस्तान्तरण भइसकेको छ।
२०७५ साउन १ गतेको बाढी, पहिरोले २५ घरमा क्षति पुगेको थियो भने एक जनाको ज्यान गएको थियो। घर पुननिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पीडितहरुले खुसी व्यक्त गरेका छन्। केही पीडित त्रिपालको टहरा बनाएर बस्दै आएका थिए।
Facebook Comment