९० हजार नगदसहित ८ जुवाडे पक्राउ

डिसी नेपाल
१९ असोज २०७६ ९:५०

राँझा। दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ।

गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार, उनीहरुलाई जुवाखालसहित ९० हजारभन्दा बढी रकमसहित पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।

चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

प्रहरी कार्यालय नजिकै चोरी

कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा गएराति चोरी भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको घरमा चोरी भएको हो।

घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ। घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना र नगद चोरी गर्ने उद्देश्यले घरमा चोर पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख शाहीको अनुमान छ। घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *