‘दशैँमा बुवाआमाको मन नदुखोस् भन्ने ख्याल गर्छु’

डिसी नेपाल
१९ असोज २०७६ १२:२१

काठमाडौं। निकै ब्यस्त गायकको पहिचान बनाउन सफल छन्, शिव परियार। नेपालमा हुँदा गीत रेकर्डिङ र विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने उनी विदेशमा हुने कार्यक्रमका कारण धेरै समय उतै बिताउँछन्। उनले स्वर दिएका दर्जनौं गीत श्रोता र दर्शकमाँझ चर्चित छन्। जीवनको अमूल्य दुई दशक संगीतमा समर्पण गरिसकेका र सुगम गायनको मूलधारमा रहि यसलाई प्रतिनिधित्व गर्दै आएका, संगीतका विविध आयाम र आरोह–अवरोहका साक्षी संगीतकर्मीहरुमध्ये शिव अग्रपंक्तिमा आउँछन्। संगीतलाई आत्मसाथ गर्दै सदैव संगीतको मूलधारमा प्रवाहित हुन रुचाउने यीनै शिव परियारसँग डीसी नेपालको लागि कमल साउदले गरेको दशैँको विशेष संक्षिप्त

कुराकानी:
दशैँ भन्ने वित्तिकै तपाईले के सम्झिनुहुन्छ ?
विषेश त दशैँ भन्नेवित्तिकै जमरा र रातो टीका सम्झिन्छु। तर नेपालीहरु दशैँ फरक–फरक तरिकाले मनाउँछन्। सामान्यतया हिन्दुहरुमै पनि दशैँलाई दुई तरिकाले मनाउने प्रचलन छ। प्रायः नेपालीहरुको घरमा चाँही दशैंमा मासु नै खानुपर्छ, नयाँ लुगा नै लाउनुपर्छ भन्ने एक खालको विकृती छ। दशैं आएपछि घर खर्च जुटाउन अभिभावकको एक खालको टाउको दुखाई हुन्छ। यसलाई चाँही मैले विकृतीको रुपमा लिन्छु। दशैंको राम्रो पक्ष भनेको चाँही वर्षौँसम्म टाढा रहेका आफन्तजन, दाजुभाइहरु पनि जमघट हुने र एकदिन चाँडकै दिन भएपनि आफूभन्दा ठूलाको आशिर्वाद लिनलाई टिका थापिन्छ। दशैँलाई विभिन्न किसिमले परिभाषित गरिएको छ। तर मैले चाँही दशैँलाई यसरि नै बुझेको छु।

दशैँको योजना के छ?
कहिलै पनि दशैँमा यो गर्छु भनेर मैले योजना बनाएको छैन। योजना बनाएर मैले जिन्दगीमा काम गरिन। जिन्दगी एउटा यात्रा हो। कर्म गर्दै अगाडि बढौं, सक्दो सुकर्म गरौं भन्ने हिसाबले म अगाडि बढीराछु। पहिले बच्चा थिए, बुवाआमाबाट आशा गरिन्थ्यो। अब बुवाआमालगायत सबै परिवारको जिम्मेवारी पुरा गर्नुपर्छ। आफूले सबैकुराहरु पुर्‍याइदिनुपर्‍यो। पहिले बुवाआमाबाट आशा गर्दा चित्त बुझेन भने यस्तो कुरा भएन, उस्तो कुरा भएन भनेर रोइन्थ्यो। अब ऐले कम्तिमा दशैँ–तिहार जस्ता चाँड पर्वमा चाहेको कुरा नपुगेर उहाँहरुको मन नदुखोस् भन्ने ख्याल गर्छु। मेरो त्यस्तो अन्य योजना हुँदैन।

यसवर्षको दशैँ कता मनाउँदै हुनुहुन्छ ?
म यस वर्षको दशैँ नेपालमै मनाउँदैछु। काठमाडौंमा घर मेरो। हुन त तराइमा पनि घर छ, तर त्यहाँ कोही पनि बस्दैनन् । परिवार नै काठमाडौं सरेको ४ वर्ष भयो। तर काठमाडौंमै दशैँ मनाउन थालेको चाही ६ वर्ष जति भयो।

गतवर्षको दशैँ कहाँ मनाउनुभयो ?
गएको वर्षका केही दशैँमा कार्यक्रमको शिलशिलामा बाहिर थिए। म घरको एक्लो छोरा हुँ। घरमा आफ्नो छोरा नै नभएपछि घरमा दशैँ नै खल्लो लाग्दो रहेछ । सानी छोरी छिन्, बुवा घरमा नहुँदा उनलाई पनि दशैँ आए जस्तो भएन। बाहिर हुँदा फाइनान्सियल कुरामा त फाइदा हुन्छ नै तर न्यास्रोपन पनि त्यति नै हुन्छ। त्यसैले बाहिरका सबै कार्यक्रमहरु रद्द गरेर यस वर्ष दशैँ नेपालमै मनाउने योजना गरेको छु।

दशैँ भन्नासाथ सपिङ पनि जोडिएर आउँछ, तपाईले चाँही दशैँमा सपिङ कत्तिको गर्नुहुन्छ ?
म सपिङलाई दशैँ कुर्दिन। कलाकार भएकोले गर्दा पनि कार्यक्रमहरुमा ड्रेसले एकदमै ठूलो भूमिका खेल्छ। त्यसैले कार्यक्रमको लागि पनि सपिङ गरिन्छ । तर नेपालमा खासै सपिङ गर्दिन। अब यता १ लाख रुपैयाँ बोकेर दरबारमार्ग गयौं भने पनि भनेको जस्तो लुगा कहिलेई पाउँदैन। सबै चाइनेज, कपि सामान नै हुन्छन् । त्यो भन्दा बरु राम्रो देश गएको बेलामा वर्षभरी पुग्नेगरी लुगा किनेर ल्याउँछु।

दशैँमा तास चाँही कत्तिको खेल्नुहुन्छ नी ?
रक्सि खाने र तास खेल्ने दुईटै कुरामा म अलि पछाडी छु। त्यहि भएर धेरै साथीभाई पनि बनाउन सकिएन। तासमा अब कसम क्रिया नै त हालेको छैन। तास खेल्न आउँछ, दशैँमा कहिलेकाही साथीभाईहरुसँग रमाईलोको लागि म्यारिज खेल्छु।
रमाइलो कुरा के भने मैले अहिलेसम्म तासमा जितेको छैन…(हाँसो)। केहीगरी जितिहाले भनेपनि लास्टमा हारेकै हुन्छु।

अनि चंगा उडाउन आउँछ की आउँदैन् ?
चँगा उडाउन चाँही आउँछ। मैले बच्चामा धेरै उडाउँथे। तर दशैँलाई भनेर चाँही उडाईन। मलाई गाउँमा हुँदासम्म थाहा पनि थिएन की दशैँमा चँगा उडाउँछन्। काठमाडौं आएपछि मात्रै थाहा पाएँ। तर अहिले चाँही मैले चंगा उडाउँदिन, अब मेरो छोरीले उडाउँछिन्।

दशैँको सबैभन्दा मनपर्ने कुरा के हो ?
दशैँको सबैभन्दा मनपर्ने कुरा भनेको गाउँ एकदम भरिएको हुन्छ। अहिले हाम्रो गाउँ युवाहरुले भरिएको छ। देश द्वन्दकालमा गएदेखि नै द्वन्दमा सरिक हुन नचाहने कतिपय युवाहरु कुनै न कुनै बाटोबाट विदेश पलायन भए। सबैलाई बन्दुक बोक्न मन लागेन, सबैलाई आफ्नो दाजुभाईको विरुद्धमा लड्न मन लागेन। अनि विदेश पलायन हुँदाखेरी गाउँ रित्तो भयो । गाउँमा भएका मान्छेहरु कोहि राजनीतिका नाममा, कोही आन्दोलनका नाममा, कोही क्रान्तीका नाममा गाउँबाट बिछोड भए। त्यस्तो बेलामा देशका अधिकांश गाउँ बुढाबुढीको वृद्धाश्रम जस्तो मात्रै भयो। अहिले हप्तादिन नै भएपनि त्यो गाउँहरु विस्तारै भरिलो हुन्छ, रमाइलो हुन्छ।

विगतका दशैँहरुमध्ये कुन वर्षको दशैँलाई यादगार मान्नुहुन्छ ?
मेरो लागि २०७० सालको दशैँ विषेश थियो। किनभने त्यस वर्ष मेरो छोरी जन्मेकी थिई। छोरी नहुँदाखेरी हामी परिवारको सबै सदस्य यथावत थ्यौं। तर छोरी जन्मेको साल चाँही दशैँ एकखालको विशेष भएको थियो।

अन्त्यमा…
सबैजना नेपाली आमा बुवा, दाजुभाई तथा दिदी बहिनीहरुलाई दशैँको धेरै धेरै शुभकामना । दशैँमा यात्रा गर्दै हुनुहुन्छ भने सिटमा मात्रै यात्रा गर्नुहोला । सिट नभए अन्य कुनै बैकल्पिक उपाय अपनाउनुहोला । तर, बसको छतमा बसेर जोखिमपूर्ण यात्रा नगर्नुहोला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *