नेपालले चीनसँग के माग्ने भन्दापनि के सहकार्य हुनसक्छ भन्नेतर्फ सोच्नुपर्छ : पूर्वमन्त्री थकाली

डिसी नेपाल
२५ असोज २०७६ ०:०७

काठमाडौं । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले चिनियाँ राष्ट्रपति सीलाई सम्पूर्ण नेपालीले स्वागत गर्न पाउनु ऐतिहाँसिक अवसरमात्रै नभएर यसले दुरगामी प्रभाव राख्ने स्पष्ट पारेका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘यी भ्रमणहरु यो लेभलमा हुनु आँफैंमा नेपाल र चीन सम्बन्धले एउटा संकेत गरिरहेको हुन्छ, अब नेपालको नीति कहाँनेर जाँदैछ ? किनभने हामी संविधान निर्माण गरिसकेको अवस्थामा छौं । तीनै तहको निर्वाचन सम्पन्न भएर बहुमत प्राप्त सरकारले शासन व्यवस्था सञ्चालन गरेको अवस्था हो ।’

नेपालबाट पनि चीनमा उच्चतम तहका भ्रमणहरु भएको सुनाउँदै उनले भने,‘यसलाई एकप्रकारले भन्दा रेसिप्रोकल भन्दापनि चीनले महत्व दिएको अवस्था हो । नेपालले अंगीकार गरेको परराष्ट्र नीति असंलग्नता, शान्तिपूर्ण र पञ्चशीलको आधार नै हो । संविधानले व्यवस्था गरेको जग हो । त्यो जगमा उभिएर हामी दृढताका साथ छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समूदायसँग हामी जति सहकार्य गर्न सक्छौं, त्यति नै चाँडो हामीले राखेको लक्ष्यमा गन्तव्यमा पुग्न सक्छौं । हामीलाई यसले सघाउ पुग्छ।’

पूर्वमन्त्री थकालीले चीन तिब्बतसँग आफ्नो क्षेत्र जोडिएको सुनाउँदै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हेर्दा चिनियाँहरुले नेपाल र नेपालीहरुप्रति देखाएको सम्मान र सद्भाव भएको पनि तर्क गरे । उनले भने,‘नेपाल सरकारले यथेष्ट तयारी गरेको हुनैपर्छ । नेपालले चीनसँग के माग्ने भन्दापनि नेपाल र चीनबीच के सहकार्य हुनसक्छ भन्नेतर्फ सोच्नुपर्छ । सहकार्य नै महत्वपूर्ण कुरा हो ।’

उनले चीन र नेपालको सम्बन्धको कुरा गर्दा पाँच सिद्धान्तमा आधारित रहेको सुनाउँदै आफूहरु त्यही सिद्धान्तबाट प्रेरित रहेर काम गरिरहेको पनि बताए । उनले भने,‘हामीबीच एकाद केही कुराहरुमा झिनामसिना गुनासोहरु आए होलान् । ती आफ्नो ठाउँमा रहे होलान् । तर, सम्बन्धमा उतारचढाव आएका छैनन् ।’

नेपालसामू चिनियाँ पक्षले राख्ने कुरा भनेको नै सुरक्षासम्बन्धी चासो भएको उनको भनाई छ । उनले भने,‘नेपालले आफ्नो क्षमता र संयन्त्रले भ्याएसम्म छिमेकी र अन्तर्राष्ट्रिय जगतको चासो सुरक्षामा नेपालले आफ्नो भूमी कसैकोविरुद्ध प्रयोग गर्न दिँदैन । आतंकवादी गतिविधिको नेपाल भूमि भएको छैन् । नेपाल एक चीन चीनि नीतिप्रति पूर्ण प्रतिबद्ध छ । हामीले लिएको एक चीन नीतिप्रति चिनियाँ सरकारपनि हामीप्रति आभारी छ ।’

उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे सरकारले भ्रमणको बारेमा केन्द्रित भएर चलाएको छलफल सराहनीय रहेको पनि प्रतिक्रिया दिए । उनले भने,‘यो सरकारले नेपाली जनता र नेपालको हितमा आफ्नो कुरा गर्छ । गर्छ भन्ने संकेत मिलिरहेको छ । सरकारलाई पार्टीको तर्फबाट र म राजनीतिकर्मीको तर्फबाट धन्यवाद दिन्छु ।’

थकालीले केरुङ–काठमाडौं रेल ल्याउनुपर्नेमा जोड दिए । उनले भने,‘रेल नल्याउने प्रश्नै आउँदैन् । म मन्त्री हुँदापनि हामीले कनेक्टिभिटीमा नै जोड गरेका थियौं । चाहे दक्षिणतिरको होस, या उत्तरतिरको होस । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा म परराष्ट्र सहायक मन्त्री हुँदा किमाथांका नाका, कोरला र यारी नाका खोल्नुपर्छ भनेर कुरा भएको थियो ।’

२१ औं शताव्दीको मुख्य आधार भनेको नै कनेक्टिभिटी भएको उनको तर्क छ । उनले भने,‘यसमा प्रथम प्राथमिकता हुनैपर्छ । हामीले ईन्टर्नल कनेक्टिभिटीलाइ बढि महत्व दिनुपर्छ । ट्रेड एण्ड ट्रान्जिटहरुको नाका खोल्नुपर्छ । केरुङ–काठमाडौं, किमाथांकाको हिल्सा नाका, ताप्लेजुङका नाका, गोरखाको लार्के नाकाको कुरा छ, खोल्नुपर्छ ।’

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा हाईड्रो र पर्यटनमा नेपालले भरपर्दो प्रस्ताव राख्नुपर्ने पनि उनको सुझाव छ । उनले भने,‘नेपालीले पैसा कमाउन सक्ने यी दुई विषय हो । हामीले फाईदा लिनसक्छौं । रेल पनि ल्याउनुपर्छ । तर, यसको लागि समय लाग्न सक्छ । कृषिलाई पनि प्रथामिकतामा दिनुपर्छ ।’

उनले भ्रमणको विषयमा वादविवाद भन्दापनि आधुनिक चीनका निर्माता सीलाई स्वागत गर्न एकजुट भएर लाग्नुपर्ने बताए । उनले थपे,‘सम्पूर्ण नेपालीले चीनलाई असल मित्रको रुपमा हेर्छन् । चीन सरकारले पनि त्यही नीति लिनुपर्र्छ । नेपाल स्थायित्व होस र स्थिर रहोस भन्ने चिनियाँहरुको बुझाई छ । त्यो सही छ ।

१९५६ मा विपीको पालामा मैत्रीपूर्ण सम्बन्ध हुँदा एक देशले अर्को देशमाथि कुनैपनि बहानामा हस्तक्षेप नगर्ने, अतिक्रमण नगर्ने र एकले अर्कोलाई सहयोग गर्ने सहमति भएको थियो । नेपाल चीनको सुरक्षालगायत सुझावप्रति सदैव संवेदनशील छ । भरपर्दो मित्र भएर नेपालले गर्नसक्छ । दक्षिण एशियाली देशमा चीनप्रति एकनाशको नीति लिने देश नेपाल हो । यो भन्दा मलाई गर्व छ ।’

सीको भ्रमण छिमेकीको मात्रै भ्रमणमात्रै नभएर सही ढंगले सघन सम्वादमा निश्कर्षमा पुग्न सकियो भने धेरै फाईदा हुने उनको तर्क छ । उनले भने,‘सीको नेपाल भ्रमण चानचुने भ्रमण होईन । अत्यन्तै महत्वपूर्ण भ्रमण हो । नेपालले लिने नीति हो, दिशा र दशाको आयामा पनि तयार गर्ने भएकोले स्वागत गरौं । भ्रमण सफलताको कामना गरौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *