यस्तो छ चिनियाँ राष्ट्रपतिको कार्यतालिका

डिसी नेपाल
२६ असोज २०७६ ९:३१

काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमणका रहेका चिनियाँ राष्ट्रपति सी चिनपिङले आज पनि राजनीतिक भेटघाट गर्दैछन्।

शनिबार काठमाडौं उत्रिएका राष्ट्रपति सीले शनिबार नै नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्। सीले आइतबार नेकपा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

स्रोतका अनुसार नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ। प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ।

नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ।
नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ। द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ। यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ।

स्वदेश फर्किनु अगाडि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच आइतबार बिहान दुई देशीय उच्चस्तरीय वार्ता हुनेछ।

वार्तामा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीका विषयमा थप छलफल हुनेछ। बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनका विषयमा नेपालले कुरा राख्नेछ।

स्रोतका अनुसार उच्चस्तरीय वार्तापछि केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति तथा टोखादेखि नुवाकोटको छहरेसम्म र रसुवाको बेत्रावतीदेखि स्याफ्रुबेँसीमा सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

यस्तै काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र आदनप्रदान हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *