कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ

डिसी नेपाल
२६ असोज २०७६ ११:५८

काठमाडौं। नेपाली काँग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम आइतबार पक्राउ परेका छन्। ०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो। संविधानसभाको पहिलो चुनाव लक्षित गरी बम बनाउँदै गर्दा  विस्फोट भएको घटना लुकाउन घाइतेहरुलाई इँटाभट्टामा हत्या गरेको आरोप आलममाथि छ। साेही विषयमा अनुसनधान गर्न आलमलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

रौतहट प्रहरीले सांसद आलम पक्राउबारे संसद सचिवालयलाई जानकारी दिइसकेको छ। रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कार्कीलले डिसी नेपालसँग भने, ‘२०६४ को चैत २७ मा  रौतहटको राजपुरमा बम विस्फोट भएको थियो। विष्फोटको अनुसन्धान भइरहेको थियो, उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नुपर्ने देखिएपछि हामीले आइतबार बिहान साढे दश बजे नियन्त्रणमा लिएका हौं।’

आलमलाई अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखिएको छ। आलम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट काँग्रेस उम्मेदवारका हैसियतमा विजयी भएका थिए।

उनले  बम विष्फोट गराएर चुनाव जित्ने रणनीति बनाएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको स्रोतको दावी छ।

यसै आरोपमा आलाम १२ वर्ष पुरानो बम काण्डको आरोपमा पक्राउ परेका हुन्। पहिलो संविधानसभाको निर्वाचनमा उनी रौतहट २ बाट विजयी भएका थिए। उनले १६ हजार ८ सय १ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमालेका उम्मेदवार शैलेन्द्र साहले ७ हजार ४ सय ६ मत पाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *