अमेरिका र साउदीले इरानसँगको तनाव कम गर्न गुहारेपछि इमरान तेहरान पुगे

डिसी नेपाल
२६ असोज २०७६ १७:००

इस्लामावाद (रासस/एएफपी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला उनी त्यसतर्फ प्रस्थान गरेको अधिकारीले जानकारी दिएका छन् । अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यस क्षेत्रको शान्ति र सुरक्षा प्रबद्र्धनका लागि सहयोग गर्न उनको भ्रमण भएको प्रधानमन्त्री खानको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्री खानले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र राष्ट्रपति हसन रौहानीलाई भेट्ने छन् । यही वर्ष उनी इरान दोस्रो पटक जानु भएको हो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री खान साउदी अरब जाने संभावना रहेको गत हप्ता बताएका थिए । छोटो पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री खान अरब जाने संकेत गरेपनि थप कुनै विवरण भने दिएका थिएनन् । त्यसअघि गत महिना प्रधानमन्त्री खानले पनि खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरबिया र अमेरिकाले आफूलाई आग्रह गरेको बताएका थिए ।

गत जुलाइमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्याङ्कर नियन्त्रणमा लिएयता अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ । युरोपेली प्रतिबन्धको उल्लंघन गर्दै सिरिया पु¥याउन लागिएको आशंकामा ट्यांकलाई नियन्त्रणमा लिइएको थियो ।

तर इरानले सिरिया नपठाउने विश्वास दिलाएपछि ट्यांकरलाई छाडिएको थियो । गत अगस्टमा अमेरिकाले ट्यांकरलाई नियन्त्रणमा राखिराख्न आग्रह गरे पनि जिब्राल्टरको अदालतले अस्वीकार गरेको थियो । जहाज नियन्त्रणमा लिन बेलायती जलसेनाले सघाएपछि बेलायत र इरानसमेतको सम्बन्ध बिग्रेको थियो । जसको प्रतिक्रियास्वरूप इरानले पनि बेलायती झण्डा अंकित एक ट्यांकर नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *