एक खेल बाँकी रहँदै भारतलाई दक्षिण अफ्रिकाविरुद्धको टेष्ट श्रृंखला

डिसी नेपाल
२६ असोज २०७६ १९:१५

नयाँ दिल्ली (एजेन्सी) । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट श्रृंखला भारतले जितेको छ । भारतको पुनेमा आइतबार दोस्रो टेष्टमा दक्षिण अफ्रिकालाई एक इनिङ्स १ सय ३७ रनले पराजित गर्दै भारतले श्रृंखलामा कब्जा जमाएको हो ।

यो श्रृंखला जितेसँगै भारतले घरेलु मैदानमा लगातार ११ टेष्ट श्रृंखला जित्दै कीर्तिमान बनाएको छ । भारत घरेलु मैदानमा लगातार ११ टेष्ट श्रृंखला जित्ने पहिलो टिम बनेको छ । पुनेमा भारतविरुद्ध फ्लोअनमा परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा पनि उच्च प्रदर्शन गर्न सकेन । पहिलो इनिङ्समा २७५ रनमा समेटिएको दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १८९ रन जोड्दा अलआउट भयो ।

दक्षिण अफ्रिकाका डिन एल्गरले ४८ रनको योगदान दिए पनि दक्षिण अफ्रिकाले भारतले पहिलो इनिङ्समा बनाएको रन भेट्टाउन सकेन । यस्तै टेम्बा बाभुमाले ३८, भेर्नोन फिलान्डर ३७ तथा केशव माहाराजले २२ रन बनाए ।

पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका रविन्द्र जडेजा र उमेश यादवले समान ३–३ विकेट हात पारे । यस्तै रविचन्द्र आश्विनले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ५ विकेटको क्षतिमा ६०१ रन जोडेको थियो । भारतका लागि कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका थिए ।

कोहलीले अविजित रहदै २५४ रनको योगदान गरे । यस्तै मायांक अग्रवालले १०८ रनको शतकीय इनिङ्स खेले । रबिन्द्र जडेजाले ९१ तथा अजिंक्या रहाणेले ५९ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिएका थिए । दोस्रो टेष्ट जितेसँगै भारतले तीन खेलको श्रृंखलामा २–० को अग्रता समेत बनाएको छ । यसअघि भएको पहिलो टेष्टमा भारतले २०३ रनको फराकिलो जित हात पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *