सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गरिने
रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्नेभएको छ।
निकुञ्जको वार्षिक कार्यक्रमअनुसार सौराहामा रहेको सम्पर्क कार्यालयमा डिजिटल डिसप्लेसहित आधुनिक सूचना केन्द्र स्थापना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए।
केन्द्र निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रु एक करोड विनियोजन गरेको छ । सूचना अधिकारी घिमिरेकाअनुसार रु ६० लाखमा भवन निर्माण गरिने छ भने रु ४० लाखमा आठ वटा डिजिटल डिसप्ले, पुस्तक, ब्रुसर र अन्य उपयोगी सामग्री राखिने छ ।
नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । भ्रमण वर्ष आउन केही समय रहेकाले केन्द्र निर्माण गर्न निकुञ्जले सक्रियता बढाएको छ ।
केन्द्रमा निकुञ्जभित्र प्रवेश सम्पूर्ण अवस्थाको बारेमा अध्ययन गर्न सकिने छ । छोटो भ्रमणमा आउनेहरुले आफू जान नसकेका ठाउँहरुको बारेमा पनि जानकारी लिन सक्ने छन् ।
केन्द्रले निकुञ्जमा भएको वन, वन्यजन्तु, वनस्पति र जनवारको विषेशताको बारेमा पर्यटकलाई जानकारी दिएसँगै यसको विश्वव्यापी प्रचारप्रसार हुने निकुञ्जको विश्वास छ।रासस
Facebook Comment