गोरुले हिर्काउँदा वृद्धाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ। आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन्।
तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए।
धानबाली हात्तीको बथानद्वारा सखाप
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले गए राति पाँच बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पु¥याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन् । पाकेर काट्नै लागेको धानबालीमा हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडाध्यक्ष बहादुर महराले बताए।
साँझ नपर्दै बस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपरेको उनले बताए। दुई दर्जन बढी किसानको धानबालीमा व्यापक नोक्सानी पुगेको छ उहाँले भन्नुभयो, “गाउँका बासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन सकेनौँ ।” हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ।
दुई साता अघि पनि जङ्गली हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी सात बिघा बढी जग्गाको धानबालीमा नोक्सानी गर्नुका साथै तीन जना किसानको घरसमेत भत्काएको थियो। प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्र मच्चाउँदै आएको छ। स्थानीय किसानले पूरै धानबालीमा नोक्सानी पुगेपछि स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि माग गरेका छन्।
Facebook Comment