जब विमान ढिलो भएपछि राजपा सांसदको ‘पारो तात्यो’
काठमाडौं। प्रदेश नम्बर २ को राजधानी जनकपुरमा रहेको विमानस्थल एक व्यस्थ विमानस्थल मध्ये एक हो। दशैंपछिको चहलपहलले गर्दा हालका दिनमा सबै विमानस्थलहरुमा चहलपहल बढि नै छ। सोमबार जनकपुर विमानस्थलमा पनि यात्रुको चाप निकै थियो।
बुद्ध एयरको विमान सोमबार बिहान ११ बजेर ४० मिनेटमा जनकपुरबाट काठमाडौंका लागि उडान भर्ने उडान तालिका थियो। ११ : ४० को विमान चढ्न आत्रुहरु साढे १० बजेदेखि नै विमानस्थल पुगिसकेका थिए। तर विमान उडानको तालिकामा त्यहाँ बुद्ध एयरको विमान नै थिएन। काठमाडौंबाट जनकपुर पुगेको विमान नै त्यहाँबाट काठमाडौंका लागि फर्कने हो। जब काठमाडौंबाटै विमान त्यहाँका लागि उडेको थिएन भने उताको उडान तोकिएको तालिकामा हुने कुरै भएन।
विमानको उडान तालिका जति डिले हुन्थ्यो यात्रुको सकस बढ्थ्यो। विमानस्थलमा विमान कुर्दा कुर्दा हैरान थिए यात्रुहरु पनि। सोमबार यही विमानबाट काठमाडौंका लागि यात्रा गर्न राजपा सांसद प्रमोद साहले पनि टिकट लिएका थिए। उनी पनि उडान तालिका अनुसारै विमान चढ्ने तयारीका साथ विमान स्थलमा पुगेका थिए। तर, विमान साढे एक बजेसम्म उडेन ।
त्यसपछि भने सांसद साहको धैर्यको बाँध टुट्यो। उनले विमानस्थलमा रहेको बुद्ध एयरको कर्मचारीसँग कुरा गरे। र काउन्टरमा लात बजाई दिए। उनले काउन्टरमा लात हानेपछि त्यहाँको सिसा फुट्यो। विमानस्थलको यात्रु कक्षमा हल्लीखल्ली भयो। स्थिति तनावग्रस्त हुने देखियो। विमानस्थल सुरक्षामा खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिए।
विमान १ बजेर ५० मिनेटमा जनकपुरबाट काठमाडौंका लागि उड्यो। बुद्ध यएरले सांसद साहलाई विमानमा प्रवेश गर्न दिएन। तर, धनुषाका प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद विमानमा चढ्न पाए।
सांसद साहले विमानस्थलको अवस्था र विमान ढिलो हुँदा पनि बुद्ध एयरका कर्मचारीले यात्रुको कुनै मतलब नगरेपछि काउन्टरमा लात हानेको स्वीकार गरेका छन्।
Facebook Comment