नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा

डिसी नेपाल
२७ असोज २०७६ २०:५२

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथिको निलम्बन फुकुवा गरेको छ। आईसीसीको बोर्ड बैठकले शसर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

सोमबारको बैठकले नेपालमाथिको निलम्बन फुकुवा गरेको हो। २०१६ मा सरकारी हस्तक्षप भएको भन्दै आईसीसीले क्यानलाई निलम्बन गर्दै व्यवस्थापन नियन्त्रणमा लिएको थियो।

हालै आईसीसीले बनाएको स्वतन्त्र समितिले क्यानको निर्वाचन गराएको थियो। सो निर्वाचनपछि क्यानको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको थियो। क्यानको निलम्बन फुकुवा भएपछि आईसीसीले केही शर्त भने राखेको छ। उसले एसोसिएट राष्ट्रले पूरा गर्नुपर्ने मापदण्ड पूरा गर्नुपर्ने भएको छ। यस्तै कोषमाथिको नियन्त्रण अझै आईसीसीले नै गर्ने जनाएको छ। नेपालबारे निर्णयपछि आईसीसी बोर्ड प्रमुख सशांक मनोहरले भनेका छन्, ‘नेपालले पछिल्ला दिनहरुमा राम्रो गरेको छ। क्यान निर्वाचित भएको छ। अब निलम्बन राख्नु उपयुक्त हुँदैन।’

निलम्बन फुकुवासँगै अब नेपालले द्विपक्षीय खेलका लागि पहल गर्न सक्ने भएको छ। आगामी दिनमा नेपाली क्रिकेटलाई कसरी अगाडि बढाउने भन्ने पनि आफ्नै आचमा आएको छ। क्यानका महासचिब अशोकनाथ प्याकुरेलले डिसी नेपालसँग यो विषयमा छोटो प्रतिक्रिया दिँदै आगामी दिनमा आईसीसीका शर्त पूरा गर्ने गरी काम गर्न बाँकी रहेको बताए। उनले जे भए पनि निलम्बन फुकुवा भएकाले अब आगामी दिनमा क्रिकेटलाई अगाडि बढाउने जिम्मा क्यानको रहेको बताए। उनले आईसीसीको सबै शर्त हेरेपछि के के गर्नुपर्ने हो सबै गर्नुपर्ने बताए।

आईसीसीले नेपालसँगै जिम्बाबेको पनि निलम्बन फुकुवा गरेको छ। जिम्बाबेको फुकुवा गर्नुअघि आईसीसीका प्रमुख शंसाक मनोहर र जिम्बाबेका खेलमन्त्रीबीच वार्ता भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *