अफताव आलममाथिको अनुसन्धानमा दबाब नदिन काँग्रेस कार्यकर्तालाई निर्देशन

डिसी नेपाल
२७ असोज २०७६ २१:५६

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा रौतहट २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहम्मद अफताव आलम हत्या आरोपमा पक्राउपछि रौतहटमा उनका समर्थकले प्रदर्शन गरेपछि नेपाली काँग्रेसले त्यस्तो प्रदर्शन नगर्न भनेको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार साँझ ट्वीट गर्दै आलममाथिको छानविन तथा अनुसन्धान हुनुपर्ने भन्दै काँग्रेस रौतहटले त्यो कुरा बुझ्ने विश्वास व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘अनुसन्धान मार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनु पर्छ । अफताब आलम पक्राउ प्रकरणमापनि सत्य यहि हो । कांग्रेसको यो केन्द्रीय धारणा रौतहट कांग्रेसले मंगलबारबाट अनिवार्य बोक्नेछ । निर्दोष कहिल्यैपनि दण्डित हुनुहुन्न दोषी कसैलेपनि उन्मुक्ति पाउनुहुन्न ।’

प्रवक्ता शर्माको ट्वीटमा नेता गगन थापाले पनि जवाफ दिएका छन्। उनले लेखेका छन्, ‘निर्दोष कहिल्यैपनि दण्डित हुनुहुन्न दोषी कसैलेपनि उन्मुक्ति पाउनुहुन्न। यही नै हो कांग्रेसको धारणा। पात्र र परिस्थिति हेरेर हाम्रो धारणा बन्दैनर बदलिँदैन।’

२०६४ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ गते आफ्नै योजनाअनुसार बम विष्फोट गराउने शिलशिलामा अकस्मात बम विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै ईँटा भट्टामा हालेर हत्या गरेको आरोप आलममाथि लागेको छ। उनी पक्राउ परेसँग सांसद भए वापतको सेवासुविधाबाट च्यूत भइसकेका छन्। आलाम हाल जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन्।

आलम पक्राउ परेपछि सोमबार उनका समर्थकले रौतहटमा विरोध प्रदर्शन गरेका थिए। काँग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि सबैतिरबाट काँग्रेसको आलोचनासमेत भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *