डा. उपेन्द्र महतोद्वारा एनआरएनए नवौं विश्व सम्मेलन बहिष्कार !

डिसी नेपाल
२८ असोज २०७६ १४:१३

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको आज उद्धघाट्न गरेकी छिन्। तर, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले सम्मेलन बहिष्कार गरेका छन्।

एनआरएनमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेपछि महतोले सम्मेलन बहिष्कार गरेका हुन्। नवौं महाधिवेशनमा संघको अध्यक्षका उम्मेद्ववारले संघको स्थापनाको पवित्र उद्देश्य विपरित राजनीतिक ध्रुवीकरण बढाएकोमा महतो रुष्ट बनेका हुन्।

विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भाृत संगठनजस्तो बनाउन नहुने महतोको सुरुदेखिको तर्क छ।

महतोले विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने अडान राख्दै आएका छन्।

संघको स्थापना भएको १६ वर्षको अवधिमा बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको गर्विलो इतिहासमा दाग लगाउनेगरी नेतृत्वको लागि राजनीतिक धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ। संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ।

महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए। त्यतिवेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेका थिए।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ। दुई दिनसम्म चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ।

विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन्। मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ। आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *