चिनियाँ राष्ट्रपतिको सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै एआइजिपीद्वारा धन्यवाद व्यक्त
काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेकोमा सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा धन्यवाद दिएका छन्।
प्रधानमन्त्री, गृहमन्त्री एवम् चीन सरकारबाट समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको उल्लेख गर्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘यसको हकदार संगठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारीहरु रहेका छन्।’
सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरीकाले अगाडि बढ्न निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘सबल टिम, सामूहिक भावना र आ–आफ्नो भूमिका पुरा गर्नमा नै सफलता छ, त्यो सबैले बुझ्नुपर्छ।’
संगठनलाई उत्कृष्ट बनाउन व्यवसायिकताका साथ झन बढी जिम्मेवार भएर राज्यले दिएको दायित्व रचनात्मक रुपमा सम्पादन गर्न अग्रसर हुनुपर्ने उनले बताए।
स्पष्ट र स्वच्छ तरीकाले नागरिक सेवा दिने कार्य समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समेटेको उल्लेख गर्दै उनले यस कार्यक्रमलाई सक्रिय रुपमा अगाडि लैजानुपर्ने बताए।
अपराध विरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै समाजमा हुने आवाञ्छित गतिबिधि नियन्त्रणमा कानूनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई अगाडि बढ्न उनले निर्देशन समेत दिए।
साथै नजिकिंदै गरेका महान चाड शुभ दीपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिबिधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरुलगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
Facebook Comment